१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० को आवेदन

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङमा नौ सय ५० जना निर्वाचन प्रहरीको आवेदन परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार जिल्ला प्रहरी कार्यालयमा आठ सय ९४ जनाको र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघामा ५६ जनाको आवेदन परेको हो। 

ताप्लेजुङमा आठ सय ९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो। पहिलोपटक माघ १ गतेसम्म आवेदन दिने म्याद भएकोमा आवश्यक माग संख्या भन्दा कम मात्र आवेदन परेपछि दुई दिन म्याद थप गरी आवेदन लिइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार माघ ५ गते सोमबारबाट आवेदकहरुको प्रारम्भिक शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने छ। त्यसका लागि आवेदकले नागरिकताको सक्कल प्रमाणपत्र र प्रवेशपत्र लिएर उपस्थित हुनुपर्ने छ।

सोमबारदेखि बुधबारसम्म आवेदकको प्रारम्भिक शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने उनले जानकारी दिएका छन्। यस्तो परीक्षा भानुजन माविको खेलमैदानमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताप्लेजुङमा ९० हजार ३ सय २७ जना मतदाता छन्। ८० मतदानस्थल र १ सय २७ मतदान केन्द्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र रहेको छ।

प्रकाशित: ४ माघ २०८२ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App