नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनको कार्यतालिका र नयाँ सरकारको योजना प्रस्तुत गर्दै वैशाख १ गते कांग्रेस नेतृत्वको सरकारले देशवासीका नाममा विशेष सम्बोधन गर्ने दाबी गरेका छन्।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले अब बन्ने सरकारले ५ वर्षको म्यान्डेट पाए पनि हरेक महिना जनतालाई हिसाब बुझाउने प्रतिबद्धता व्यक्त गरे।
थापाले निर्वाचन र सरकार गठनको टाइमलाइन सुनाउँदै भने, ‘फागुनमा चुनाव हुन्छ, चैतमा परिणाम आउँछ। वैशाख १ गते कांग्रेसको नयाँ सरकारले देशवासीका नाममा उभिएर बोल्छ।’
उनले नयाँ वर्षको पहिलो दिन बन्ने सरकारले ५ वर्षको लक्ष्य राखे पनि जनतालाई भने एक महिनाको तत्काल गरिने कामको सूची सुनाउने बताए।
विगतमा ५ वर्षपछि मात्र जनतामा जाने परिपाटीको अन्त्य गर्ने घोषणा गर्दै थापाले अबको सरकार हरेक महिना अग्निपरीक्षामा होमिन तयार रहेको बताए।
‘वैशाख १ गते सरकारले जम्मा एक महिनाको कार्यक्रम भन्छ,’ थापाले भने, ‘फेरि जेठ १ गते आउँछ, उभिन्छ र भन्छ यो एक महिनाभित्र मैले यी कामहरू गरें, अबको अर्को एक महिनाभित्र म यो थप काम गर्छु।’
थापाले आगामी ५ वर्ष कांग्रेस नसुस्ताउने दाबी गरे। उनले भने, ‘हामीले ५ वर्षको समय मागेका छौँ, तर परीक्षा दिन ५ वर्ष कुर्दैनौँ। प्रत्येक महिनाको पहिलो दिन सरकार जनताको कठघरामा उभिनेछ।’
प्रकाशित: १४ फाल्गुन २०८२ १६:२१ बिहीबार





