२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या

म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दा समस्यामा परेका छन्। दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावमा कार्यान्वयन हुन सकेको छैन। पुल नहुँदा गाउँपालिका–३ दर र वडा नम्बर ४ मुदीका बासिन्दा मर्कामा परेको दर गाउँका पारस बुढाले बताए।    

हिउँदमा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइए पनि बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिकसम्म सवारीसाधन सञ्चालन हुन सक्दैन। 

दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक रहेको स्थानीयको भनाइ छ। यी गाउँमा करिब ७०० घरपरिवार बसोबास गर्दै आएका छन्। 

 मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्तीले दरखोलाको मोटरेबल पुल स्थानीयको प्रमुख माग रहेको बताए। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा आएका उम्मेदवारसँग पनि पुल निर्माणको माग गरिएको उनले बताए।   

पुल नहुँदा बर्खा याममा खाद्यान्न तथा निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान, कृषि र पशुजन्य वस्तु बजार पठाउन समस्या हुने दरका हरिप्रसाद बुढाले गुनासो गरे। 

दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो। गण्डकी प्रदेश सरकारले आव २०८०/०८१ मा रु ५० लाख र २०८१/०८२ मा रु ३० लाख बजेट विनियोजन गरे पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण स्रोत सुनिश्चितता हुन नसक्दा योजना कार्यान्वयनमा जान सकेन। 

आव २०८२/०८३ मा सङ्घीय सरकारसँग माग गरिएको योजना सम्बोधन नभएपछि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष रेशम पुनमगरले बताए। गाउँपालिकाको नीति तथा कार्यक्रममा दर–मुदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर दरखोलामा बेलिब्रिज बनाउने उल्लेख छ।  

तर प्रभावित क्षेत्रका बासिन्दा जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्व रकम पुल निर्माणमा खर्च गर्न नहुने अडानमा छन्। जलविद्युत् आयोजना पक्ष थप व्ययभार बेहोर्न इच्छुक छैन। आवश्यक आर्थिक स्रोतको अभावका कारण दरखोलामा पुल निर्माण योजना कार्यान्वयनमा ढिलाइ भएको जनप्रतिनिधिको भनाइ छ।    

प्रकाशित: १६ फाल्गुन २०८२ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App