बाग्लुङको ढोरपाटन नगरपालिकामा समुदायस्तरमा दादुरा संक्रमण फैलिएको छ।
ढोरपाटन नगरपालिकाकाको ७, ८ र ९ नम्बर वडामा दादुराको संक्रमण फैलिएको परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ७ जनामा दादुरा पुष्टि भएको छ। अरु ८३ जनामा दादुरा आशंका गरिएको छ।
दादुरा संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा २१ जनाको नमुना परीक्षणको लागि पठाइएकोमा सात जनामा पुष्टि भएको उनले जानकारी दिए।
विरामी भएकामध्ये ३३ जनाको बुर्तिबाङ अस्पताल र ६ जनाको बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ।
समुदायस्तरमा संक्रमण फैलिएपछि रोक्नको लागि भन्दै भोलि (शुक्रबार)देखि खोप अभियान सुरु गर्न लागिएको उनले नागरिकलाई जानकारी दिए।
'ढोरपाटन नगरपालिकामा दादुरा विरुद्धको विशेष खोप अभियान फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन हुँदैछ।', उनले भने । विशेषगरी वडा नम्बर ८ मा संक्रमण धेरै देखिएको छ । पहिला खोप नलगाएको समुदायमा दादुरा फैलिएको डा. गौतमको भनाइ छ ।
१० देखि २० वर्षसम्मको उमेर समुहका झण्डै सात हजारलाई खोप लगाउन लागिएको उनले जानकारी दिए । ढोरपाटनमा दादुरा फैलनुको कारण बुझ्न अध्ययन टोली त्यहाँ पुगिसकेको पनि उनले जानकारी दिए ।
दादुराका मुख्य लक्षण के हुन् ?
उच्च ज्वरो, आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु,साधारणतया नचिलाउने गिर्खा प्रारम्भिक लक्षणहरूपछि देखा पर्छन् ।
सुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ।
तर खैरो वा कालो छालामा त्यस्तो डाबर देख्न गाह्रो हुन्छ।
प्रायः देखिने जटिलतामा कानको सङ्क्रमण र झाडाबान्ता पर्छन्।
कतिपय व्यक्तिमा अझ गम्भीर समस्या देखिन सक्छ।
दादुरा बिग्रिए निमोनिया, इन्सेफलाइटिस (मस्तिष्क सुनिनु) र अन्धोपन पनि हुन सक्छ।
दादुरा कसरी फैलिन्छ ?
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा निस्किने ससाना कणमा यो दादुराको भाइरस हुन्छ।
ती कण सास फेर्दा शरीरभित्र प्रवेश गरेको अवस्थामा वा तिनलाई छोएर आफ्नो हात, नाक वा मुखनजिक लैजाँदा पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।
त्यस्तो डाबर देखिएको कम्तीमा चार दिनसम्म दादुरा भएका व्यक्तिहरूले सङ्क्रमण सार्न सक्छन्।
एक जना व्यक्तिबाट १८ जनासम्ममा फैलने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव छ।
उपचार
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार दादुराको कुनै एन्टिभाइरल उपचार छैन। यसबाट जोगिने एक मात्र उपाय दादुराविरुद्धको खोप लगाउनु हो । यो रोग लागेर जटिलतातिर पुगेको खण्डमा सहयोगी उपचार तथा कम गर्ने प्रयास गर्न सकिन्छ ।
दादुरा सङ्क्रमण पुष्टि भएपछि लक्षणमा आधारित भएर चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ। लक्षणमा आधारित भएर पोषणयुक्त खाना खाने, पर्याप्त मात्रामा झोलिलो पदार्थ पिउने, पखाला, बान्ता भएमा जीवनजल पिउनु पर्छ।
ज्वरो आउँदा, आँखाको सङ्क्रमण र निमोनिया लगायतका समस्या कम गर्न एन्टिबायोटिक औषधि समेत दिइन्छ। सरकारले निःशुल्क प्रदान गर्ने दादुरा खोप ९ महिना र १५ महिनामा दुई मात्रा खोप लगाइएमा जोखिम निर्मुल गर्न सकिन्छ।
दादुराको लक्षण देखिएपछि बालबालिकालाई स्कुल जान, साथीहरुसँग खेल्न, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई सङ्क्रमण हुन सक्ने भएका कारण सावधानी अपनाउनुपर्छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १९:४५ बिहीबार





