क्रोएसियामा भएको सडक दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा मेचीनगर–१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षीय भुवन विक रहेका छन्।
बोस्नियामा रहेका उनीहरू घुम्न क्रोएसिया जाँदै गर्दा बाटोमै दुर्घटनामा परेका थिए। गैरआवासीय नेपाली संघ (एनआरएन) क्रोएसियाका अध्यक्ष साइमन तामाङका अनुसार दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको थियो।
दुर्घटनामा मृत्यु भएका दुवै युवाको शव नेपाल ल्याउने प्रयास भइरहेको तामाङले जानकारी दिए।
दुर्घटनाको समयमा बोस्नियाबाट क्रोएसिया घुम्न जाने समूहमा तीन नेपाली र एक पाकिस्तानी नागरिक रहेका थिए। दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको एनआरएन क्रोएसियाले जनाएको छ।
प्रकाशित: २८ फाल्गुन २०८२ १९:४१ बिहीबार





