चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत रहँदा विदेशी मुद्रा सञ्चिति ४१ खर्ब १४ अर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकले मंसिर ३ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३९ करोड रहेको छ। उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड र शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड बचतमा रहेको छ। यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले वृद्धि भएको छ। चालु आवको असोज महिनामा मात्रै विप्रेषण आप्रवाह रु २ खर्ब ६७ अर्ब ३४ करोड रहेको छ।
प्रतिवेदनअनुसार तीन महिनामा निर्यात ५७ प्रतिशत र आयात ३८.२ प्रतिशतले बढेको छ। यस अवधिमा नेपाल सरकारको कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रहेको छ भने राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड पुगेको छ।
त्यस्तै, विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशत र वार्षिक विन्दुगत आधारमा १४.८ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत कायम भएको छ।
प्रकाशित: ३ मंसिर २०८३ १९:३७ बिहीबार





