१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरमा गाईजात्राको तयारी सुरु

भक्तपुरमा २०७९ को गाईजात्रा पर्व (सापारु) को तयारी सुरु भएको छ। भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारी स्वरुप बिहीबार संस्कृति कर्मीको भेला गरेको छ। नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा भेला सम्पन्न भएको हो।

भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरेको बताउँदै यस पटकको गाईजात्रा सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने उद्देश्यले संस्कृतिकर्मी भेलाको आयोजना गरेको बताए।

उनले यो वर्षको सापारुमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताए। गाईजात्रामार्फत् जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लानुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जात्रा र संस्कृतिक परम्परादेखि चल्दै आएको हाम्रो सभ्यता भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धनमा सिंगो नगरलाई एकताबद्ध भइ अगाडि बढन्पर्ने बताए। भेलामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नजिकिँदै गरेको गाठामग चह्रे र सापारुमा आउनसक्ने विकृतिबारे सबैजना सचेत हुनुपर्ने बताए।

कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरूले संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरू प्रशासनीय रहेको, नयाँ कलाकारहरुलाई परम्परागत नाँच सिकाउन सुरु गरिसकेको, भक्तपुर महोत्सव सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्न नगरपालिकाले पहल गर्नुपर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको खाँचो रहेको बताए।

साथै उनीहरुले पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाईजात्रा रुटमा केबल तारहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायतका धारणाहरु व्यक्त गरे।

प्रकाशित: ५ श्रावण २०७९ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App