१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

१४ औं वार्षिक उत्सवमा नागरिकको सप्ताहव्यापी कार्यक्रमहरु सुरू

अन्तरकर्मचारी छलफलसहित तीन जना कर्मचारी पुरस्कृत

प्रधानसम्पादक गुणराज लुँइटेल, संवाददाता टपेन्द्र कार्की, निर्देशक शोभा ज्ञवाली, रेडियो नागरिकका केशवकुमार मल्ल ठकुरी, नागरिक नेटवर्क निर्देशक सुयश ज्ञवाली, बजार विभाग प्रमुख अनिल बाँस्कोटा, प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, सिइओ सम्वृद्धि ज्ञवाली।

नेपाल रिपब्लिक मिडिया लिमिटेडले १४ औं वार्षिक उत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु सुरू गरेको छ। यी कार्यक्रम मंगलबारबाट सुरु भएका छन्।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा लिमिटेडले मंगलबार अन्तर कर्मचारी छलफलसहित तीन जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत समेत गरेको छ।  

पुरस्कृत हुने पत्रकार तथा कर्मचारीहरुमा क्रमशः नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की, बजार विभाग प्रमुख अनिल बाँस्कोटा र रेडियो नागरिकका संयोजक केशवकुमार मल्ल ठकुरी (अमृत) छन्। पुरस्कृत कर्मचारीहरुलाई नेपाल रिपब्लिक मिडिया लिमिटेडका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले प्रशंसा पत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले कोभिडका कारण विगत दुई वर्ष संस्थाले विभिन्न कठिनाई व्यहोर्नुपरेको उल्लेख गरे। उनले कठिन अवधिको सामना गर्न व्यवस्थापनलाई सहयोग गर्ने र धैर्यता प्रदर्शन गर्ने संचारकर्मी तथा कर्मचारीहरुलाई धन्यवाद दिए। संचारकर्मी अन्य व्यापार र व्यवसाय जस्तो नाफा कमाउने नभई समाज परिवर्तनका लागि रहेको ज्ञवालीले उल्लेख गरे। ‘पत्रकारिता आफ्नो लागि नभई समाजको ऐनाका रुपमा गरिने सेवा हो,’ उनले भने, ‘यसमा नाफाघाटा भन्दा पनि समाज परिर्वतनको दायित्व बढी हुन्छ। समाजका लागि काम गर्ने जोसुकैले पनि कहिले काही दुःखको सामना गर्नुपर्ने हुन्छ।'

यसैगरी नेपाल रिपब्लिक मिडिया लिमिटेडका प्रधान सम्पादक गुणराज लुँइटेलले आगामी दिनहरु संचार जगतका लागि सकारात्मक हुने विश्वास व्यक्त गरे। उनले विभिन्न कठिनाईका बावजुद संस्थालाई अहिलेको अवस्थामा सुचारु गर्न सहयोग गर्ने व्यवस्थापन र धर्यताका साथ आफ्ना काममा तल्लिन सहकर्मीहरुलाई धन्यवाद दिए। ‘सकारात्मक सोच र विचारले मात्र सफलता हासिल गर्न सकिन्छ,' लुँइटेलले भने।

त्यस्तै नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशक शोभा ज्ञवालीले कोभिड र त्यसबाट सिर्जित कठिनाईले गर्दा बाध्य भएर बन्द गरिएका नेपाल रिपब्लिक मिडियाका अन्य प्रकाशन बिस्तारै सुरु गर्ने जानकारी दिइन्। ‘ती हाम्रा परिवारकै अंग थिए। तर बाध्य भएर हामीले तीनलाई बन्द गर्नुपर्याे। समय अनुकूलता हेरेर तीनलाई सुचारु गर्नेछौं,’ उनले भनिन्।  

निर्देशक ज्ञवालीले निष्पक्ष पत्रकारिताको वकालत गरिन्। ‘पत्रकारिता पैसामा बिक्नु हुँदैन। पत्रकारिताले समाजमा रहेका राम्रा तथा नराम्रा सबै किसिमका विषयवस्तुहरु निष्पक्ष रुपमा उठान गर्नु पर्छ,’ उनले भनिन्। निर्देशक ज्ञवालीले संस्थालाई सहयोग गर्ने सबै संघसंस्था, निकाय र कर्मचारीहरुलाई धन्यवाद दिएकी थिइन्।

साेहीक्रममा लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत सम्वृद्धि ज्ञवालीले संस्थाले विगत दुई वर्षभन्दा बढी संस्थाले कठिनाई भोग्नु परेपछि पनि संस्था अहिलेको अवस्थामा रहनुलाई उपलब्धिको रुपमा व्याख्या गरिन्।  

‘हामीले विगतमा धेरै चुनौतीको सामना गर्याैं। कठिन अवस्थामा उभिन सफल पनि भयौ। तर हामी यत्तिकैमा चित्त बुझाएर बस्ने अवस्थामा भने छैन,' उनले भनिन्। ज्ञवालीले थपिन्, ‘पत्रकारिताको मुल मर्म नै हामीले उठाउने वा लेख्ने बिषयवस्तु र तीनको स्तर हो। आम नागरिकसँग सरोकार राख्ने बिषयवस्तुहरु उठाएर हामीले आफ्नो संस्थालाई आगामी दिनमा पृथक बनाउनुपर्छ।’

उनले जनचासोका विषयमा समाचार लेख्दा त्यसले विज्ञापनदाताहरुको पनि मन जित्ने कुरा उल्लेख गरिन्। ‘तपाईको समाचारमा कन्टेन्ट राम्रो भयो भने मात्र विज्ञापन आउँछ र उक्त विज्ञापनबाट आएको पैसाले संस्थाको वित्तिय अवस्था राम्रो हुन्छ,' अधिकृत ज्ञवालीले भनिन्।  

नेपाल रिपब्लिक मिडिया लिमिटेडले वैशाख ११ गते आइतबार नागरिक नायक पनि घोषणा गर्दैछ। यो वार्षिक उत्सवको प्रमुख कार्यक्रम हो। यो कार्यक्रम काठमाडौको बसन्तपुरकाे डबलीमा हुँदैछ। यसपछि विभिन्न प्रादेशिक सदरमुकामहरुमा आर्थिक अन्तर्क्रियाहरु पनि गर्ने जानकारी दिइएको छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडले २०६५ देखि निरन्तर रुपमा आफूलाई सशक्त र परिपक्व रुपमा आमनागरिकका पक्षमा आवाज उठाउँदै आएको छ। संस्थाले यस अवसरमा एक औपचारिक कार्यक्रम गर्दै संस्थामा आवद्ध कर्मचारीहरु माँझ संंस्थाको कार्यदिशाबारे छलफल पनि गरेको छ।

मिडियाले नागरिक दैनिक पत्रिका, रेडियो नागरिक ९६.५ मेगाहर्ज, अनलाइन संस्करणका साथै, फेसबुक, युट्युव, इन्स्टाग्राम, ट्वीटर लगायत सामाजिक संजाल मार्फत सूचना, सन्देश र समाचार सम्प्रेषण गर्दै आएको छ।

प्रकाशित: ६ वैशाख २०७९ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App