२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखाका किसानले काट्न पाएनन् धानः पाकेको धानमा रोगको प्रकोप

फोटो गोनपा १०मा रोगलागेको धान हेर्दै प्राविधिक <br>

आइतवारदेखि लगातार झरी परेका कारण गोरखाका किसानले धान काट्न पाएका छैनन्। दशैँ लगत्तै धान काट्ने तयारीमा रहेका किसान वर्षातले पाकेको धान ढल्ने, डुब्ने, बारीमा झर्ने भएपछि चिन्तित बनेका छन्।  

‘तराईमा जस्तो हाम्रो जिल्लामा धान डुबानमा परेको छैन। यहाँ काट्ने तयारी पनि किसानको हुँदैछ’, कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘तर काट्ने बेला भएको धानमा पनि वर्षातले क्षति पुर्‍याएको छ।’ केही दिन पानी परिरहने हो भने गोरखाको धेरै फाँटमा पाकेको धानमा क्षति पुग्ने उनले बताए।  

दशैँ सकिएलगत्तै धान काट्ने तयारी गरेका किसान वर्षात कहिले रोकिएला भन्ने पर्खाइमा छन्। गोरखाको दरौँदी, बुढीगण्डकी, मस्र्याङ्दी आसपासका फाँटमा धान खेती धेरै हुन्छ। टारीफाँट, बोर्लाङफाँट, ज्यादुलफाँट, दर्बङफाँट, सेराफाँट, खारखोलाफाँट लगायत जिल्लाका अधिकांश फाँटमा तिहारसम्म ७० प्रतिशत भन्दा बढी धान  काट्छन्।  

पानी कम लाग्ने, चाँडै पाक्ने, धेरै फल्ने नयाँ प्रजातिका धान किसानले लगाएका छन्। अहिले गोरखामा राधा चार, गोरखानाथ, सावित्री, मकवानपुरे लगायतका धान लगाएका छन्। 

धान रोपेको बेला पानी, मल समयमै नपाएर चिन्तित बनेका किसान पाकेको धान थन्काउन नपाउँदा अहिले पनि चिन्तामा छन्।  

गोरखा नगरपालिका १० छेवेटारका किसानलाई भने दोहोरो पिरलो छ। पाकेको धान झरी काट्न पाएका छैनन् भने अर्कोतिर खैरो फड्के किराले सखाप बनाएको छ। 

सृष्टि कृषक समुहमा आवद्ध किसानले बुधवार गोरखा नगरपालिकाको कृषि शाखामा फोन गरेर गुनासो राखे। कृषि शाखाका प्रमुख नभिन अधिकारी खेतमै पुगेर समस्या समाधानको प्रयास गरे। ‘किराले करिब एक सय रोपनी धान सखाप बनाईसकेको रहेछ’ उनले भने ‘जरा भन्दा माथि धानको बोट चुसेर किराले क्षति पुर्‍याएको छ।’ पदम तामाङ, हरिमाया तामाङ लगायत किसानको धानखेतीमा धेरै क्षति पुगेको छ।  

गोरखा नगरपालिकाको कृषि शाखाले वर्षातले धान खेतीमा पुर्‍याएको क्षतिको विवरण  संकलन गरिरहेको जनाएको छ। कृषि शाखाका प्रमुख अधिकारीले भने ‘के कति क्षति भएको छ भन्ने विवरण लिँदैछौँ’ उनले भने ‘केही ठाउँमा हामी आफैँ गएर पनि स्थलगत हेरेका छौँ।’ पाकेको धान लगातार वर्षात भएर समयमै काट्न नपाउँदा उत्पादनमा ह्रास आउन सक्ने उनले बताए।  

कृषि ज्ञान केन्द्र गोरखाले ११ वटै स्थानीय तहको कृषि शाखा मार्फत पालिका भित्र वर्षातले धान खेतीमा पुर्‍याएको क्षतिको विवरण मागेको छ। ‘कृषि बिकास निर्देशनालयबाट हामीलाई जिल्लाभरि धन खेतीमा कति क्षति भयो भन्ने विवरण मागिएको छ’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने ‘वर्षात भइरहेकाले क्षतिको विवरण आउन अझै केहीदिन लाग्छ।’  

प्रकाशित: ३ कार्तिक २०७८ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App