रसुवा – जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा एक हप्ताको अवधिमा करिब ३ हजार तीर्थयात्रीले मेला भरेका छन्। यो वर्ष करिब १५ हजारले मेला भर्ने अनुमान छ।
मेला सकिन ३ दिन मात्र बाँकी छ। तीन दिनमा १२ हजार तीर्थयात्री आउने सम्भावना छैन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार दैनिक ५ सयको हाराहारीमा तीर्थयात्री आइरहेका छन्। गत वर्ष करिब ७ हजार तीर्थयात्रीले मेला भरेको समितिका अध्यक्ष संजिव डिएमले बताए।
बुधबारदेखि स्वास्थ्य शिविर सञ्चालन :
गोसाइँकुण्ड मेलामा तीर्थयात्रीको चाप बढेसँगै बुधबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाली सेना, जिल्ला स्वास्थ्य कार्यालय र विभिन्न गैरसरकारी संस्थाले शिविर सञ्चालन गरेका हुन्। हरेक वर्ष जनैपूर्णिमाको चार दिन अघिदेखि शिविर सञ्चालन गर्ने गरिन्छ।
१० दिनसम्म मेला चल्ने भएपनि शिविर भने चार दिनसम्म मात्रै सञ्चालन गरिन्छ। यो वर्ष गोसाइँकुण्डमा हिमालय उद्धार संघ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेशगौँडामा सक्षम नेपाल, चोलाङ्पाटी र चन्दनबारीमा नेपाली सेना कालीजङ्ग गणले स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
सदरमुकाम धुन्चेमा चहलपहल बढ्यो :
स्थानीय तह आएपछि पछिल्लो समय सुनसान बन्दै गएको सदरमुकाम धुन्चेमा मेलाको कारण चहलपहल बढेको छ। सदरमुकाममा रहेका सरकारी तथा गैरसरकारी संस्था बाहिरन थालेपछि धुन्चेमा चहलपहल घट्दै गएको हो। मेला भर्नका लागी दैनिक ५ सय तीर्थयात्री आउँदा धुन्चेमा व्यापार समेत बढ्दै गएको व्यापारीले बताएका छन्।
६८ वटा थर्पु सञ्चालन :
गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रीको चापलाई मध्येनजर गर्दै पदमार्गमा ६८ वटा अस्थायी बास (थर्पु) सञ्चालन गरिएको छ। गोसाइँकुण्ड पदमार्गमा स्थायी होटल १७ वटा मात्रै भएकाले तीर्थयात्रीले समस्या हुने भएकाले थर्पु सञ्चालन गरिएको हो। धुन्चेदेखि गोसाइँकुण्डसम्म ६८ वटा थर्पु सञ्चालन भएको समितिका अध्यक्ष डिएमले बताए। घट्टेखोलादेखि गोसाइँकुण्डसम्म जानका लागि करिब ५० वटा घोडा रहेको समितिले जनाएको छ।
गोसाइँकुण्ड जानका लागि तीनवटा मुख्य बाटो सञ्चालन :
धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्।
त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।
त्यसपछि काठमाडौं–सुन्दरीजल–हेलम्बु–ठाडेपाटी बाटो आउँछ। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन्।
धार्मिक आस्था :
कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पती भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पती भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्। मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन्। काठमाडौं उपत्यका नेवार समुदायका धेरै युवायवती जाने गरेका पाइन्छ।
प्रकाशित: ७ भाद्र २०७५ ०८:२९ बिहीबार