१३ वैशाख २०८२ शनिबार
image/svg+xml १४:५४ अपराह्न
समाज

भक्तपुरमा बिस्का जात्राको रौनक, नौ दिनसम्मको उत्सवले मोहित पर्यटक

नयाँ वर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर बिस्का जात्राको रौनकले भरिएको छ। नौ दिन आठ रातसम्म मनाइने यो जात्राले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरेको छ। भक्तपुरका नेवार समुदायले यो जात्रा भव्य रूपमा मनाउन विदेशमा रहेका आफन्त र परिवार पनि घर फर्कन्छन्। यो जात्रा ऐतिहासिक, तान्त्रिक र धार्मिक विधिअनुसार जिल्लाभर हर्षोल्लासका साथ मनाइन्छ।

बिस्का जात्राको इतिहास
इतिहासका अनुसार, बिस्का जात्रासँग जोडिएका धेरै तथ्य भेटिन्छन्। संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, भक्तपुरको टौमढीस्थित यक्षमल्लको पालाको शिलालेखमा यो जात्रालाई ‘विश्वजात्रा’ भनिएको छ। 

भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको समयमा लेखिएको अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ। त्यसअघि थिमिमा नेपाल सम्वत् ५०० को तमसुक पत्रमा विश्वकेतुलाई बुझाउने ‘बिसिक’ शब्द भेटिएको छ। 

पहिले यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो। प्रा. डा. श्रेष्ठका अनुसार, चैत्र शुक्ल मसान्तमा विश्वकेतुसहित योसीं (लिङ्गो) उठाएर ध्वजा फहराउने र वैशाख सङ्क्रान्तिमा ढाल्ने नै मूल जात्रा हो। यक्षमल्लको नेपाल सम्वत् ५६१ को शिलापत्रमा यसलाई ‘विश्वजात्रा’ भनिएको छ। 

नेपाल सम्वत् ६४१ को तमसुकमा ‘बिसक जात्रा’, ७१२ देखि ९१८ सम्मका ठ्यासफुमा पनि ‘विश्वजात्रा’ उल्लेख छ। राजा जितामित्र मल्लको नेपाल सम्वत् ८०८ को अभिलेख र भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि ‘बिसक्यात’ लेखिएको छ। 

लिच्छवीकालमा भक्तपुर विशाल नेपालमण्डलको राजधानी थियो। यक्षमल्लसम्म करिब ३६७ वर्ष यो राजधानी रह्यो। त्यतिबेला भक्तपुर वरपर जङ्गल थियो, जसले गर्दा अग्लो लिङ्गो उठाएर जात्रा सबैले देख्न सक्थे। पछि ध्वजा जोडियो। मल्लकालको मध्यतिर काशी विश्वनाथ र भद्रकालीको जात्रा पनि थपियो।

राजा राय मल्लको समयमा भक्तपुरको भूभाग सानो हुँदै गएपछि उनका छोरा भुवन मल्लले टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर, चौकोटजस्ता ठाउँमा पनि यो जात्रा मनाउने चलन चलाए। विश्व मल्ल, गङ्गारानी, जगज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल र भूपतिन्द्र मल्लले भैरव र भद्रकालीको रथसहित अन्य देवताको जात्रा र पूजा थपेर परम्परा बसाले। 

प्रा. डा. श्रेष्ठका अनुसार, तलेजुमा यो जात्रालाई ‘विश्वजात्रा महापर्व’ भनिन्छ। संस्कृतको ‘विश्वकेतु’ नेवारीमा ‘बिसिक’, ‘बिस्क’ हुँदै ‘बिस्का’ भयो। त्यसको अपभ्रंशले ‘बिस्केट’ बनेको उनको बुझाइ छ। नेवारीमा अहिले पनि यो ‘बिस्का’ नै भनिन्छ। लिच्छवीकालदेखि यो जात्रा ‘बि:सीत’ (नागनागिन मरेको) भावमा मनाइएको भनाइ पनि छ। 

कसरी सुरु हुन्छ बिस्का?
नेपालको संस्कृतिलाई विश्वमा चिनाउने यो जात्रा चैत २८ गते सुरु हुन्छ। बिहान स्थानीय बासिन्दा, मध्याह्नमा गुठी संस्थान र त्यसपछि टोलको पूजा सकिएपछि प्यागोडा शैलीको तीनतल्ले भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिन्छ। भैरवनाथ र बेताललाई रथमा विराजमान गराएर भैरवनाथ र भद्रकालीको रथ तानिन्छ। 

पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरवको रथ ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानिन्छ। थनेतर्फ पहिला तानिए दत्तात्रयसम्म र क्वनेतर्फ टेखापुखुसम्म लैजाने परम्परा छ। गःहिटीमा रथ पुगेपछि पहिलो दिनको जात्रा सकिन्छ। यस वर्ष रथ वंशगोपाल पुगेपछि राति १:०० बजे गःहिटी ल्याइयो। जात्राको मुख्य आकर्षण चैत २८ र वैशाख ५ मा रथ तान्नु, चैत ३० मा ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउनु र वैशाख १ मा साँझ ढाल्नु हो। 

जात्राको किंवदन्ती
एउटा किंवदन्तीअनुसार, प्राचीन भक्तपुरकी राजकुमारीसँग विवाह गर्न आएका राजकुमारलाई राति उनको नाकबाट निस्कने नागनागिनले डस्दा मर्थे। धेरै राजकुमार मरेपछि एक तान्त्रिकले ती नागनागिनलाई तरबारले काटे। त्यसको खुसीयालीमा यो जात्रा सुरु भएको भनाइ छ। 

तर, प्रा. डा. श्रेष्ठ यो किंवदन्ती गलत भएको बताउँछन्। उनको तर्क छ, ‘यो जात्रा विश्वनाथ भैरव र भद्रकालीको हो। लिङ्गोमा फहराइने ध्वजा भैरव र भद्रकालीको हो। यसलाई ‘बि’ को अर्थ सर्प र ‘स्यात’ को अर्थ मारियो भन्ने गलत अर्थ लगाएर धार्मिक र ऐतिहासिक पक्ष बिगारिएको छ।’ 

उनका अनुसार, मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका ध्वजामा ‘विश्वकेतु’ र ‘वीरध्वजा’ लेखिएको छ। यो विश्वनाथको विश्वध्वजा र भैरवको बाहन वीर बेतालको वीरध्वजा हो। तर, जनमानसमा नागनागिन भन्ने गलत प्रचलन छ। यो जात्रा किराँतसँगको युद्धमा लिच्छवी राजाको जितपछि दुई दिन मनाइएको थियो। पछि मल्ल राजाले भैरव र भद्रकालीको जात्रा थपेर नौ दिन पुर्‍याए। 

नौ दिनमा के हुन्छ?
प्राचीनकालदेखि चल्दै आएको यो जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको रथजात्रा र काशी विश्वनाथ भैरवनाथको जात्रा पनि समावेश छ। भक्तपुरवासीले यो जात्रालाई मोहनी नखः पछिको प्रमुख चाडका रूपमा मनाउँछन्। 

पहिलो दिन भैरवनाथको रथ टौमढीबाट माथि र तलका बासिन्दाले तान्छन्। माथि तानिए दत्तात्रय र तल तानिए नासमनासम्म पुर्‍याएर गःहिटी फर्काइन्छ। रथको अगाडि छ र पछाडि चार लठारो समातेर ‘होस्से..हैसे...हा..हा..’ भन्दै तानिन्छ। रथ तान्नु नै मुख्य आकर्षण हो। पहिलो दिनलाई ‘द्यो क्वहाँ विजाइगु’ भनिन्छ। बेलुकी सबै देवता तल विराजमान गराइन्छ। दोस्रो दिन भद्रकालीको रथ गःहिटीको खलाटोलमा पुर्‍याइन्छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाएर गुठी संस्थानले पूजा गर्छ। 

बलिको मासु लाकुलाछेवासीलाई प्रसादका रूपमा बाँडिन्छ, जसलाई ‘स्याःको त्याःको’ भनिन्छ। चौथो दिन चैत ३१ मा बिहान तालाक्वको कुमाले टोलमा हात नभएको लिङ्गो र साँझ तान्त्रिक विधिअनुसार ५५ हात लामो लिङ्गो उठाइन्छ। लिङ्गोको शीर्ष र हात नौलो कपडाले बेरिन्छ। कोखामा झुण्ड्याइने दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवको ध्वजा भनिन्छ। ध्वजा फुकाएपछि संवत्सर फेरिन्छ, बीचमा हेर्न नहुने मान्यता छ। 

लिङ्गो बाँध्ने आठ डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिङ्गो उठाउँदा नवदुर्गा उपस्थित हुन्छन्। लिङ्गो उठेपछि तलेजुमा दुमाजुको विशेष पूजा हुन्छ। यो जात्रा हेर्नाले शत्रु नाश हुने मान्यताले यसलाई ‘शत्रुहन्ता’ पनि भनिन्छ। लिङ्गो उठेपछि बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ। 

पाँचौँ दिन वैशाख १ मा दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालिन्छ। खँला टोलमा भैरवनाथ र भद्रकालीको रथ जुधाइन्छ, जसलाई ‘द्यो ल्वाकिगु’ भनिन्छ। साँझ दुमाजुको जात्रा हुन्छ। लिङ्गो उठाउने र ढाल्ने नै मुख्य जात्रा हो। 

छैठो दिन महाकाली र महालक्ष्मीको खट् जुधाइन्छ। सातौँ दिन ब्रम्हायणी र महेश्वरीको तिंप्वा र खट् जुधाउने जात्रा हुन्छ। आठौँ दिन सबै देवताको सगुण पूजा हुन्छ, जसलाई ‘द्यो स्वंगँ विइगु’ भनिन्छ। 

नौ दिनको अन्तिम दिन वैशाख ५ मा भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुन्छ। यसलाई ‘द्यो थाहा विज्याइगु’ भनिन्छ। जात्रामा अष्टमातृका, गणेश, भैरव, कुमारीलगायतका देवताले नगरलाई शोभायमान बनाउँछन्। रमेश गिरी/रासस

प्रकाशित: ३१ चैत्र २०८१ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App