आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास तथा केन्द्रीय अनुसन्धान ब्युरोको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो सहिदनगर नगरपालिका(३ यदुकूहास्थित एक घरमा प्रवेश गरी मण्डलले आफू अख्तियारको अधिकृत हुँ भन्दै एक जनाको घरमा पसेर धाक धम्की दिइरहेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको बेला मण्डल अचानक आएर यो जमिनमा घर किन बनाएको प्रश्न गर्दै लालपुर्जा खोज्न थालेको घरधनी सुनम देवीले बताइन् । 'सुरुमा आफू अख्तियारको मान्छे हुँ भन्दै मेरो घरमा प्रवेश गरेको सुनमले बताइन्', उनले भनिन् 'घरमा आएर लालपुर्जा खोज्न थाले, मेरो छोराको बारेमा सोधपुछ गर्न थाले मलाई गोली ठोक्ने धम्की दिएपछि म बाहिर गएर छिमेकीलाई खबर गरे।'
स्थानीयले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय यदुकूहाबाट प्रहरी निरीक्षक ओम प्रकाश यादव नेतृत्वको टोलीले मण्डललाई त्यहाँबाट पक्राउ इलाका प्रहरीमा ल्याएका थिए । सर्वसाधारणलाई झुक्काएर आर्थिक लाभ लिनका लागि अख्तियारका नक्कली कर्मचारी बनेर हिँड्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
यस विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए।
प्रकाशित: १३ वैशाख २०८२ १४:२७ शनिबार





