नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार नरहेको र उल्टै उनीहरूलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन्।
प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले सरकारले अदालतको आदेश र विगतका सहमति कार्यान्वयन गर्न समेत अग्रसरता नदेखाएको बताए।
“लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर सरकार लागेको छ। शिक्षकसँग भएका सहमतिअनुसार ऐन तत्काल ल्याउनुपर्छ र छोटो बाटोबाट लागू गर्नुपर्छ,” दाहालले भने।
उनले शिक्षकलाई कक्षाकोठामा फर्काउने वातावरण बनाउन सरकारले काम गर्नुपर्नेमा जोड दिए।
दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोहोरो चरित्र देखाएको आरोप लगाए। “प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,” उनले भने।
आफू प्रधानमन्त्री हुँदा शिक्षक, सहकारी र लघुवित्त पीडितका माग सम्बोधन गर्न पहल गरेको स्मरण गर्दै उनले ओली नेतृत्वको सरकारलाई शिक्षकका जायज मागप्रति उदासीन रहेको बताए।
उनले शिक्षकका माग सम्बोधनका लागि सडक, सदन र मोर्चाबाट दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। “देशको जटिल राजनीतिलाई सहज बनाउने जिम्मेवारी हामीले पूरा गर्नुपर्छ,” उनले थपे।
सोही अवसरमा दाहालले राजावादीहरूको रणनीति पूर्ण रूपमा असफल भएको दाबी गरे। “राजावादीहरूको होहल्ला र रणनीति असफल भएको छ। यो जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको जित हो,” उनले भने।
प्रकाशित: १३ वैशाख २०८२ १४:२८ शनिबार





