दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा दायर गरिएको मुद्दाका आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो दाबी गरे पनि अदालतले आरोपी दुई जनालाई १६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
जग्गा लिजमा लगाउँदा ठगी गरेको आरोप लागेका ट्रष्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ र सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी मागेको हो। सवा पाँच अर्ब रुपैयाँ बिगो दाबी गरिएको मुद्दामा १६ लाख धरौटी मागेपछि सिआइबीले लगाएको मुद्दा कमजोर देखिएको छ।
दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा नेपाल सरकारका पूर्वसचिवसहित तीनजनाविरुद्ध सवा पाँच अर्बको भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत दायर मुद्दामा तत्कालीन सचिव कार्की, सहसचिव कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई विपक्षी बनाइएको थियो। आरोपपत्रमा तीन जनालाई पाँच वर्ष कैद सजायसमेत माग गरिएको थियो।
नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा दिँदा अनियमितता गरेको आरोप उनीहरूमाथि लगाइएको थियो। नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि थामसेर्कु ट्रेकिङले ट्रस्टका अधिकारीसँगको मिलोमतोमा एक अर्ब ५९ करोड ४० लाख ५२ हजार रुपैयाँमा मात्र सम्झौता गरेको दाबी गरिएको छ।
२०७४ जेठमा भाडाबापत एक अर्ब ४० करोड १० लाख रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार रुपैयामा सम्झौता भएको थियो। नेपाल ट्रस्टको कार्यालय र थामसेर्कु ट्रेकिङ प्रालिबिचमा निर्माण अवधि तीन वर्षसमेत गरी ३० वर्षका लागि लिज सम्झौता भएको थियो। उक्त जग्गामा थामसेर्कु डेभलपर प्रालिले बिजनेस कम्प्लेक्स बनाएर भाडामा लगाएको छ।
सुरुमा धेरै रकम प्रस्ताव आउँदा पछि मिलोमतोमा कम रकममा सम्झौता गरी ठगी गर्ने नियत देखिएको सिआइबीको दाबी छ। दरबारमार्गस्थित उक्त जग्गा थामसेर्कुलाई लिजमा दिँदा अनियमितता भएको चर्चा हुँदै आएको थियो।
उक्त मुद्दामा अनुसन्धान गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल तामेलीमा राख्ने निर्णय गरेको भए पनि सिआइबीको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दा भए पनि सिआइबीले ठगी र आपराधिक विश्वासघातको आरोपमा मुद्दा दायर गरेको हो।
यती समूहको थामसेर्कु ट्रेकिङले सरकारी अधिकारीसँगको मिलेमतोमा सस्तो मूल्यमा जग्गा लिजमा लिएर लाभ लिएको आरोप लगाएको थियो। थामसेर्कुले दरबारमार्गको प्राइम लोकेसनमा रहेको जग्गा लिजमा लिएर पूर्वाधार निर्माण गरी भाडामा लगाएको छ।
टेन्डर प्रक्रिया सुरु गर्दादेखि नै थामसेर्कुलाई फाइदा हुने गरी योजना बनाएर काम भएको र त्यसपछि पनि पटक–पटक सोही कम्पनीको पक्षमा निर्णय गरेर नेपाल ट्रस्टलाई करोडौं नोक्सानी पु¥याएको सिआइबीको दाबी छ।
ट्रस्टको कार्यालयले सार्वजनिक खरिद नियमावली विपरीत सस्तोमा भाडामा दिएको हो। लिज लिने टेन्डर प्रक्रियामा थामसेर्कुले सुरुमा ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार रुपैयाँ प्रस्ताव गरेको थियो। थामसेर्कुले ठेक्का पाउने निश्चित भएपछि बोलपत्रको फाइल फेरेर एक अर्ब ५५ करोड ४० लाख ५२ हजार रुपैयाँ कायम गरेको आरोप छ।
ट्रस्टसँगको सम्झौतामा बेसमेन्टसहित तीन तला बनाउने उल्लेख भए पनि थामसेर्कुले पाँच तला बनाएर भाडामा लगाएको छ। लिजमा तीन तला उल्लेख गरे पनि सम्झौताविपरीत पाँच तलाको भवन बनाएर भाडा उठाएको भन्दै नेपाल ट्रस्ट अदालतसम्म पुगेको थियो।
उक्त मुद्दा अहिले पनि उच्च अदालत पाटनमा विचाराधीन छ। थामसेर्कुले अहिले नेपाल ट्रस्टलाई वार्षिक चार करोड ५० लाख रुपैयाँ जग्गाको भाडा तिर्दै आएको छ।
प्रकाशित: १० पुस २०८२ ०८:१८ बिहीबार





