पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध सडक राति ९:०० बजेदेखि सञ्चालनमा आएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको छ। गत पुस २६ गते भारतीय हेभी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाउँदा दिनभर सडक अवरुद्ध भएको थियो।
बाढीले डाइभर्सन बगाएपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमा अलपत्र परेका थिए। डाइभर्सन अभावमा नारायणगढ–बुटवल भएर चल्ने सवारीसाधन पूर्णरूपमा ठप्प भएका थिए। अत्यावश्यक सवारीसाधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो हुँदै आवतजावत गराइएको थियो।
दाउन्ने क्षेत्रमा कालोपत्रे सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीबार बिहानको वर्षाले सडक हिलाम्मे भएपछि आवागमन अस्तव्यस्त बनेको थियो। प्रहरी उपरीक्षक ढकालका अनुसार दाउन्ने क्षेत्रको हिलो माटो हटाएर केही सहज बनाइएको छ।
उक्त क्षेत्रमा गत बुधबारदेखि आगामी चैत ३१ गतेसम्म बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म आवागमन बन्द गरेर मर्मत कार्य भइरहेको छ। त्यस्तै, आगामी वैशाख १ देखि १५ गतेसम्म राति ११:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमन रोकेर सडक विस्तारको तयारी गरिएको छ। रासस
प्रकाशित: ३१ चैत्र २०८१ ०६:४७ आइतबार