४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नवलपुरको कावासोती–७ का पैंसट्ठी वर्षीय चुनबहादुर बोट र नवलपुरकै मध्यविन्दु–६ का ६५ वर्षीय नाथुराम महतो रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जका अनुसार चारजना घाइते भएका छन्।

बोटेको कात्तिक २० गते कृष्णसार मध्यवर्ती सामुदायिक वन प्रवेश गर्ने क्रममा र महतोको मंसिर ८ गते खेतबारीमा आलु लगाउने क्रममा गैंडाले आक्रमण गर्दा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। यसैगरी सदाबहार मध्यवर्ती सामुदायिक वनमा भरतपुर–२८ का पथ प्रदर्शक जगबहादुर माझी, रिउ खोलानजिक माडी–१ का छविलाल बोटे, कावासोती १५ का ४० वर्षीय निरञ्जन महतो, चितवन निकुञ्जको टेम्पल टाइगर पोस्टनजिक गैंडाले आक्रमण गरी गोरख गणका सिपाही कृष्ण यादव घाइते भएका छन्।

पछिल्लो डेढ महिनामा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विभिन्न स्थानमा दुईवटा गैंडा तथा एउटा बाघ मृत भेटिएको सूचना अधिकारी मगरले जानकारी दिए। गत मंसिर ७ गते मझुवा मध्यवर्ती सामुदायिक वन क्षेत्रभित्र नारायणी नदीको दोस्रो भँगालोमा अन्दाजी ३१ वर्षको पोथी गैंडा पानीमा डुबेर मृत्यु भएको अवस्था तथा १३ गते निकुञ्जको ध्रुव पोस्टनजिक करिब ३५ वर्षको पोथी गैंडा कालगतिले मरेको अवस्थामा फेला परेको उनले बताए। कालगतिले मरेका दुवै गैंडाका खाग र खुर सुरक्षित रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै मंसिर १६ गते अमलटारी सेक्टरअन्तर्गत नवलपुरको नन्दपुरघाटमा ६ वर्षीय बाघ मृतवस्थामा भेटिएको उनले जानकारी दिए। अर्को बाघसँग जुधेर उक्त बाघ मरेको मगरको भनाइ छ। यस अवधिमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। यसैबीच, चितवन राष्ट्रिय निकुञ्जले गत कात्तिक १३ देखि हालसम्म विभिन्न कसुरमा ६५ जनालाई पक्राउ गरेको छ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन अभियान सञ्चालन गरेको छ। निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसुरमा एक, अनुमतिविना बँदेल पाल्ने दुई, विनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस–दाउरा काट्ने ३०, माछा मार्ने तेइस, परेवा मार्ने एक र विनाअनुमति निकुञ्ज प्रवेश गरी निउरो टिप्ने आठजनालाई निकुञ्जले पक्राउ गरेको हो।

प्रकाशित: ४ पुस २०८१ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App