६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा मंसिर २८ गतेदेखि पाँचदिने महोत्सव हुने

भक्तपुरको कला, संस्कृति, जीवनशैली, र स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ मंसिर २८ गतेदेखि भक्तपुर महोत्सव आयोजना गरिने भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा २०८१  पुस २ गतेसम्म चल्नेगरी पाँचदिने भक्तपुर महोत्सव आयोजना गरिएको हो।

भक्तपुर महोत्सवको पत्रकार सम्मेलनमा नगर प्रमुख एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको बताए।

प्रमुख प्रजापतिले महोत्सवको लागि १ करोड ५० लाख बजेट बिनियोजन गरिएको र महोत्सवबाट ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको जानकारी गराए। महोत्सवको मुख्य लक्ष्य भक्तपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादनहरूको प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पाहुनाहरूलाई आकर्षित गर्न सकियोस् भन्ने रहेको छ।

भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरूको संरक्षण, प्रवर्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारेको जनाएको छ। उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई नगरका गतिविधिहरू प्रदर्शन गर्ने अवसरको रूपमा सञ्चालन गरिने बताइन्।

महोत्सवमा ३२ वटा विधा ८० स्थानमा सञ्चालन हुने छ। महोत्सवकै अवसर पारेर भक्तपुर नगरपालिकाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको पनि जनाइएको छ।

२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने जोशीले जानकारी गराइन्। उनले सिंगो नगरलाई उत्सवमय बनाउन सबैले आ–आफ्नो तरिकाले भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण दिएका थिए।

उनले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने बताए। उनका अनुसार महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषामा प्रकाशन गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०८१ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App