१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सिलाइकटाइबाट स्वरोजगार बन्दै दुर्गमका महिला

पछिल्लाे समय दुर्गम जिल्ला जुम्लाका महिला सिलाइकटाइ व्यवसायबाट स्वरोजगार बनेका छन्। वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएर अहिले महिला आत्मनिर्भर बन्दै गएका हुन्। जसमा पातारासी गाउँपालिका-५ की सरिता बुढा सिलाइकटाइ गरिरहेकी छिन्। 

उनले सिलाइकटाइलाई व्यावसायिक रुपले अगाडि बढाइ रहेको बताउँछिन्। विभिन्न प्रकारका कपडाका सामानहरुको पसल व्यवसाय सुरु गरिरहेकी सरिताले सिलाइकटाइ तालिम लिएपछि आएका ग्राहकका कपडा समेत सिलाउन सक्षम छिन्। उनी पछिल्लो समयमा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रको सहयोगमा पुर्नताजगि तालिम लिएर अहिले विद्यतीय मेसिनबाट सिलाइकटाइ व्यवसाय थालेकी हुन्।

सरिताले मासिक १५ हजार सिलाइकटाइबाट आम्दानी गर्छिन्। पहिला आधारभुत तालिम दिएका ग्रामिण महिलाहरुलाई पुर्नताजगी तालिम दिएपछि पातारासी गाउँपालिकाको लासी बजारमा उनी जस्तै एक दर्जन महिलाहरुले व्यवसाय सुरु गरेका छन्।

यस्तै गाउँपालिकाको केन्द्र भएको लासी बजारमा सोही गाउँपालिकाका पसल गरिरहेका गुठीचौर-२ की तारादेवी ऐडि ३ वर्षदेखि सामान्य सिलाइकटाइ व्यवसाय गर्दै आएकी थिइन्। अहिले उनले १५ दिने पुर्नताजगी तालिम लिएपछि व्यवसाय राम्रो हुन थालेको बताइन्। ऐडिले वैकल्पिक ऊर्जाले सो तालिम दिएपछि सीप थप बढेको बताइन्। बिजुलीबाट बल्ने विद्युत मेसिनतबाट सञ्चालन हुने सिलाइकटाइ  मेसिन नि:शुल्क प्राप्त भएको छ। यो मेसिनले छिटो काम गर्न सजिलो भइरहेको छ।

पातारासी गाउँपालिकाको केन्द्र लासी बजारमा अहिले उनीहरु आधारभुत कपडाहरु सिलाउँदै आफ्नो व्यवसाय बढाउन थालेका छन्। नर्वे सरकार र संयुक्त राष्ट्र विकास संघको आर्थिक तथा प्राविधिक सहयकोगमा सञ्चालित वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्र कृषि खाद्य कार्यक्रमका लागि नविकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत १४ जना महिलाहरुलाई सुर्खेतमा १५ दिने सिलाइ कटाइ सीप विकास तालिमसहित विजुलीबाट सञ्चालन हुने आधुनिक जुकी मेसिन वितरण गरिएको फिल्ड संयोजक पृथ्वीबहादुर शाहीले बताए।

सो तालिम र मेसिन सिकेपछि उनीहरुले आफ्नो व्यवसाय झन बढाउदै लगेका छन्।  उनका अनुसार प्रति व्यक्ति ४८ हजार मुल्यको विद्युबाट सञ्चालन हुने मेसिन उपलब्ध गराइएको हो। यस्तै, तारादेवी ऐडिका श्रीमानले समेत सिलाइकटाइ व्यवसायमा सघाइरहेका छन्। श्रीमान् गोरबहादुर ऐडिले ४ वर्षदेखि आफूले व्यवसाय गरिरहेको समयमा अहिले वैकल्पिक ऊर्जाले श्रीमती तारालाई पुर्नताजगी तालिम दिई विद्युतीय मेसिन उपलब्ध गराएकाले व्यवसाय झन चम्किएको छ।

तारादेवीले मासिक ३५ हजार आम्दानी सिलाइकटाइबाट हुने गरेको बताउँदै अहिले विद्यालयका पोषाक, भोटो, सुरुवाल, बुलाउज, सट पईन्ट, कुर्ता सुरुवात यतै सिलाउन थालेको बताइन्। ग्राहकहरु बढी आउने भएकाले विद्युतीय मेसिनले धेरै छिटो हुने गरेको छ। पातारासीका नागरिक सामान्य कपडा र सिलाउन एक दिन लगाएर जुम्ला बजार आउने गरेको अब हामीले यहाँ सेवा दिन थालेपछि सजिलो भइरहेको उनी बताउँछिन्।

हाल १४ जना पुर्नताजगी तालिम लिएका महिलाहरु आफ्नो पसल खोलेर व्यवसाय गरिरहेका छन्। पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट ९ सय ९८ किलोवाटको परीक्षण प्रसारण जोडिएकालेले सो विद्युतको दीर्घकालिन प्रयोग गरी काम गर्ने उद्देश्यले लासी बजारका महिलाहरुलाई व्यवसायी बनाउने उद्देश्य रहेको वैकल्पिक ऊर्जा फिल्ड संयोजक शाहीले बताए। 

अहिले बजारमा डिल्लाीचौर विद्युत सहकारी संस्था तथा साना जलविद्युत आयोजनाबाट ५८ किलोवाट विद्युत सञ्चालन भईरहेकोमा अब चुकेनीको विद्युत जोड्ने तयारी भईरहेको छ। ९ सय ९८ किलोवाट चुकेनी विद्युतले बत्तीको चरम अभाव भोगिरहेको जुम्ला सदरमुकाम अहिले उज्यालोमय बनेको छ। 

प्रकाशित: २३ श्रावण २०८१ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App