१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

तपस्वी बम्जनको मुद्दामा पीडित बालिकाको जन्मदर्ता झिकाउन आदेश

बाल यौन शोषण मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेको तपस्वी रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतले पीडित बालिकाकाे जन्मदर्ता झिकाउन आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पीडित बालिकाकाे जन्मदर्ता प्रमाणपत्र पेश गर्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। 

सर्लाही जिल्ला अदालतमा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए। यसै गरी प्रतिवादीको तर्फबाट सीताराम घिमिरे, दिलिप झा, मनोहर झा लगायतका कानुन व्यवसायीले बहस गरेका थिए।

बाल यौन शोषण मुद्दामा सर्लाही जिल्ला अदालतको आदेश अनुसार बम्जन गत पुस २६ गतेदेखि पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन्। बम्जनलाई काठमाडौँबाट कडा सुरक्षाका साथ सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको थियो। 

यस अघि अदालतले तिन पटक मुद्दालाई पेसीमा चढाएको थियो तर मुद्दाका प्रतिवादीको तर्फबाट दुई पटक पेसी सारिएको थियो भने एक पटक सरकारी वकिलको मागअनुसार पेसी सारिएको स्रेस्तेदार अधिकारीले जानकारी दिए।

प्रकाशित: २५ जेष्ठ २०८१ १७:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App