नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे।
उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए।
“हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट बेहोर्नुपर्यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरु मूलभूत रुपमा एकता भइसकेका हुनेछन्” उनले भने।
उनले पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे।
आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ।
उनले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुसम्म पुर्याउने समेत उल्लेख गरे। पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले सहिद, वेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए।
“हामीले जनतासामु संवाद गर्दैगर्दा जनताको हामीप्रतिको माया अझै प्रगाढ हुँदै गएको छ, हामीप्रति जनताको ठूलो विश्वास कायमै छ, त्यसकारण हामीले हाम्रा कमिकमजोरी सनतासामु प्रष्ट राख्नुपर्छ”, उनले भने।
प्रकाशित: १३ वैशाख २०८२ १७:०१ शनिबार





