खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।
शनिबार धाकुटा स्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्याउने लक्ष अनुसार तीब रुपमा काम भइरहेको बताए।
उनले भने, "हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ। आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ।"
यसैगरी, मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले बिश्वास लिएको जानकारी दिए।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए।
उनले भने, "सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट अनुसार, देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पुर्याउने लक्ष्यमा हामी अग्रसर छौँ। यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो।"
दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएकाले अब हाम्रै सहभागिता, सहकार्य र निगरानीले मात्र यसको सफल कार्यान्वयन सम्भव हुने उनको भनाई छ।
आफुले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिवद्ध रहेको मन्त्री यादवले जानकारी दिए।
"सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउने पक्षमा नीति परिमार्जन गर्दै ८५ / १५ मा रूपान्तरण गरिसकेको छु। विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन म निरन्तर लागिपरेको छु," उनले भने।
देशभरिका खानेपानी योजनाहरूको स्थलगत निरीक्षणमा आफु हरेक ठाउँमा पुगिरहेको तथा समस्या बुझ्न, समाधान खोज्न, र योजनाहरूलाई गति दिन लागिपरेको उनले जनाए।
आयोजना कार्यान्वयनको प्रत्येक चरणमा समयपालन र उच्च गुणस्तर सुनिश्चित गर्न आफ्नो स्पष्ट निर्देशन तथा कडा निगरानी रहने बतउँदै मन्त्री यादवले यस आयोजनालाई निर्धारित समयमै, गुणस्तरीय रूपमा, र पारदर्शिताका साथ सम्पन्न गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले भने, "खानेपानी मात्र होइन, सरसफाइ पनि हाम्रो सरोकार हो। खुला दिसामुक्त समाज, स्वच्छ विद्यालय, र सफा बस्ती बनाउने कार्यमा सरकार पूर्ण प्रतिबद्ध छ।"
खानेपानी मन्त्रालयका सतिव इञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई शुद्ध, स्वच्छ खानेपानी उपलबध गराउने उदेश्यले बुढीमोरङ आयोजना जस्ता परियोजनाहरु देशका विभिन्न कुनामा तीव्र गतिमा अघि बढाउँदै लगिएकाले अब खानेपानीका जटिल चुनौतीहरू र समस्याहरु चाडै समाधान हुने बिश्वास व्यक्त गरे।
उनले भने, "खानेपानीका समस्या समाधन गर्नका लागि हामी अहोरात्र खटिएका छौँ। नागरिकका खानेपानीका समस्या अब दीर्घकालिन रुपमा समाधान हुने छन्। आगामी आर्थिक वर्षमा पनि यो योजना निरन्तरता हुनेछ।"
प्रकाशित: १३ वैशाख २०८२ १६:५३ शनिबार





