७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

काम उही, बराबर ज्याला खोई !

श्रमिक दिवस

पुरुषसँगसँगै काम गर्दै शर्मिला तामाङ/ रञ्जना तामाङ/ सुनिता लामा, तस्बिर: सविता/ नागरिक

बलियाबांगा पुरुषले मात्र गर्ने भनिएका काम महिलाले पनि त्यसरी नै गरिहेका हुन्छन्। जस्तै: घर ढलान गर्ने, बालुवा–सिमेन्ट बोक्ने, मसला घोल्ने, घर रंगाउने, बेल्चा चलाउने आदिआदि। तर नेपालमा महिला श्रमको मूल्यमा चर्को विभेद छ। महिला र पुरुषले एउटै समय, एउटै स्थान र एउटै काम गरे पनि ज्यालामा असमानता छ।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवसका बेला नेपाल सरकार विभिन्न कार्यक्रमसहित श्रमिकका हितमा कुरा गर्छ। तर काठमाडौं उपत्यकाभित्रै इँटाको भारी बोक्दै गरेकी मकवानपुरकी ४८ वर्षीया सुनिता लामालाई यो दिवसबारे अत्तोपत्तो हुन्न। ‘काम नगरी पेट भरिन्न,’ उनी भन्छिन्, ‘त्यसैले हाम्रो काम नै श्रमिक दिवस हो।’

उनी र सहकर्मी रञ्जना तामाङ पनि घामपानी नभनी काममा भिड्छन्। डोकाभरि इँटा राखेर सुइँसुइँ ओसार्नु उनीहरूको बाध्यता हो। एकछिन यताउता ढिम्किन पाउँदैनन्। उनीहरूलाई थकाइ त लागेको हुन्छ तर अभिव्यक्त गर्न भ्याएका छैनन् भनेर बुझ्न कठिनाइ हुन्न।

डोकाभरि इँटा हालेर तीन तलामाथि स्वाँस्वाँ गर्दै भर्‍याङ उक्लिरहेकी सुनिता पसिनैपसिनाले भिजेकी थिइन्। तीन सन्तानकी आमा सुनिताले निधारबाट बगेको पसिनाले आँखा पोल्ने गरेको सुनाइन्।

३५ डिग्री सेल्सियस गर्मीमा भारी बोक्नुपर्ने बाध्यताको पछाडिको कारण रहेछ, घरव्यवहार चलाउन पैसाको जोहो गर्नु। घर बनाउन मसला बनाउने, इँटा–बालुवा–सिमेन्ट बोक्ने र घर प्लास्टर गर्ने काममा बिहान ९ देखि बेलुका ६ बजेसम्म नौ घन्टा खटिँदा पनि सुनितालाई दैनिक ६०० देखि ७०० रूपैयाँसम्म मात्र हात पर्छ । सुनिताको घरखर्चको एउटा हिस्सा उनकै कमाइबाट धानिएको छ।

पसिना पुछ्दै सुनिता भन्छिन्, ‘यो पापी पेट पाल्नैपर्‍यो, छोराछोरी ससाना हुँदा मर्लान् कि भन्ने डर हुन्छ, हातगोडा चल्ने भएपछि छाडेर जान्छन् कि भन्ने चिन्ता। नभन्दै ठुल्ठुला भएपछि छोराछोरीले छाडेर गए, अहिले सँगै छैनन्।’

सुनिताका दुई छोरा छन्। बुहारी ल्याएपछि ती छोराले आमाबुवासँग भान्छा अलग गरेका छन्। छोरी बिहे गरेर गएको तीन वर्ष भयो तर सम्पर्कविहीन छिन्।

यस्तैयस्तै पीडाका बीचमा समान ज्याला नपाउने विषयले उनलाई थप पीडा दिइरहेको हुन्छ तर उनी त्यसलाई बाहिर देखाउँदिनन्। सुनिता र उनका पति एकै ठाउँमा नभए पनि एकै प्रकृतिका काम गर्छन् तर ज्याला फरक–फरक छ। ‘भन्ने नै हो भने केटा मान्छेले भन्दा बढी काम केटी मान्छेले गर्छन्। सिमेन्टको भारी हामी नै बोक्छौं, मसला हामी नै घोल्छौं। उनीहरू (पुरुषहरू) ले त इँटा र सिमेन्टको चुली मात्रै लाउने हुन्। ज्यामी काम गर्ने केटी मान्छेलाई धेरै गाह्रो छ। तैपनि समान ज्याला पाइन्न,’ सुनिता भन्छिन्।

पुरुषको जति महिलाको पनि ज्याला हुनुपर्छ भनेर माग राखेको उनी बताउँछिन्। ‘तर साहुजीले सुने पो। साहुजी त रिसाएर काममै आउनुपर्दैन पो भन्छन्। बरु अरू नै मान्छे खोजेर काम लाउने कुरा गर्छन्। अब नआएर भो त,’ उनी गुनासो गर्छिन्, ‘आफूलाई काम चाहिएको छ। लोग्ने मान्छेले जत्तिकै काम गर्छौं तर महिला भनेर पैसा भने कम दिन्छन्। काम नगरी खान पाइँदैन। चुप लागेर बस्नुबाहेक कुनै उपाय छैन।’

घरखर्च थेग्न गाह्रो भएर पतिले जस्तै उनले पनि काम गर्न थालेकी हुन्। ज्याला कम मिले पनि मेलमिलाप भने बढेको उनी हाँस्दै सुनाउँछिन्। दुवैले कमाउने भएपछि झैझगडाचाहिँ कम हुने गरेको अनुभव उनले बटुलेकी छन्। ‘उत्तिकै मेहनत गर्छु तर बुढाबुढीको ज्यालामा विभेद छ। के गर्नु भोकै बस्न त सकिँदैन,’ उनी भन्छिन्।

असमान ज्यालाबाट वञ्चित सुनिता पैसाको आवश्यकताले नै चुपचाप काम गर्न बाध्य छिन्। त्यस्तै ललितपुरको नल्लुकी शर्मिला तामाङले पनि एउटै प्रकृतिको काम गर्दा पुरुषसरहको ज्यालाबाट वञ्चित छिन्।

उनी बिहान ७ देखि साँझ ६ बजेसम्म सिमेन्टको इँटा बनाउने काममा व्यस्त हुन्छिन् तर दैनिक ४०० देखि ५०० रूपैयाँ मात्र पाउँछिन्। बिहान ५ बजे उठेर छोराछोरीलाई खाना पकाएर आफूलाई पनि खाना र खाजा बोकेर काममा आउने गरेको उनले सुनाइन्। सुक्खा ज्यालादरमा काम गर्ने उनको पारिश्रमिक निकै कम छ।

शर्मिला आफ्नो दैनिक कमाइबाट बालबच्चा पढाउने र घरखर्च टार्ने गर्छिन्। दुई सन्तानकी आमा उनी आफूले पढ्न नपाउँदा यतिधेरै दुःख खेप्नुपरेको बताउँछिन्। ‘पढ्न पाइएन, त्यसैले यस्तो ज्यामी काम गर्नुपरेको छ।

दुइटै छोरोछोरीलाई सरकारी स्कुलमा हालेकी छु। उनीहरूलाई बोर्डिङमै पढाउने रहर थियो नि तर कमाएको जति खानलाई ठिक्क हुन्छ,’ उनी भन्छिन्। पति प्रायः भट्टीतिर जाने हुनाले पैसा बचाउन गाह्रो परेको उनी बताउँछिन्। बाहिर ज्याला कम भएपछि घरमा परिवारको पनि हेपाइ खानुपरेको उनी सुनाउँछिन्। श्रम ऐन, २०७४ मा लिंगका आधारमा श्रमिकबीच समान मूल्यको कामका लागि पारिश्रमिकमा भेदभाव गर्न पाइँदैन भनिएको छ।

तर श्रम ऐन लागु भएको वर्षौं बित्दा पनि पारिश्रमिकको विभेद अझै हटेको छैन। कानुनी व्यवस्था जे भए पनि महिला–पुरुषमा काम एउटै ज्याला फरक हुने गरेको उनी बताउँछिन्। ‘दिनभरि चर्को घाममा पटुकी कसेर पुरुषले जति नै काम गर्छौं तर ज्याला भने फरक छ,’ उनी भन्छिन्।

एउटै काम तर ज्याला फरक हुने हुँदा सँगै काम गर्ने महिला कामदारको मनोबल कम हुने गरेको छ। गाउँघरदेखि सहरबजारसम्मै ज्यालामा विभेद छ। ‘ज्याला समान पाउन सकियो भने बालबच्चासँगै घरखर्च चलाउन सजिलो हुने थियो,’ उनी भन्छिन्, ‘सरकारले पारिश्रमिकमा भेदभाव गर्न पाइँदैन भने पनि नियम लागु हुन नसक्दा हामी महिला कामदार ठुलो मारमा परेका छौं।’

ज्यालादारीमा काम गर्दा पुरुषहरू ‘लाठे’ हुन्छन् र महिलाहरू काम कम गर्छन् भन्ने बुझाइ छ। तर ज्यामी काममा महिला बढी लगनशील, इमानदार हुन्छन्। त्यही इमानदारीको फाइदा उठाएर ज्यालामा साहुले शोषण गर्छन्। महिला र पुरुषमा असमान ज्याला नेपालको दूरदराज गाउँमा मात्रै नभएर उपत्यकाभित्रै पनि छ।

ज्यामी काममा पुरुषभन्दा बढी महिला खट्नुपर्नेे अनुभव सुनिता र शर्मिलाले मात्रै सुनाएका होइनन्, ललितपुरको ठेचोमा घर निर्माण कार्यमा सुनितासँगै खटिने रञ्जनाको भनाइ पनि उस्तै हो। उनी पनि पुरुषले भन्दा बढी काम गरेर साहुजीबाट कम ज्याला पाउँदा विभेद परेको र शोषित भएको बताउँछिन्।

वर्षौंदेखि ज्यामी काम गर्दै आए पनि पुरुषसरह पारिश्रमिक नपाएको तितो अनुभव उकेल्दै उनी भन्छिन्, ‘ज्यामी काम धेरै गरियो। पुरुषभन्दा कम काम गरेनौं। तर पुरुषको जति ज्याला कहिल्यै पाएनौं। थोरै ज्यालामै परिवारको आर्थिक अवस्था बढाउन धेरै गाह्रो छ। खेतीकिसानी गर्दा खान कहिल्यै पुगेन। जसरी पनि अरू काम गरेर कमाउनैपर्ने अवस्था छ।’

रञ्जनाका पति रोजगारीका सिलसिलामा बिदेसिएका छन्। एक जनाको कमाइने घरव्यवहार धान्न गाह्रो भएपछि ज्यामी काममा लागेको उनले बताइन्। रञ्जना मसला बनाउनदेखि भारी बोक्नेसम्म जुनसुकै काममा पोख्त छिन्।

पुरुषले मात्रै गर्ने भनिएको प्लास्टरको काममा पनि उनी उत्तिकै अब्बल छिन्। महिलाले पुरुषले भन्दा बढी मेहनत गर्छन्। त्यसैले निर्माण व्यवसायीहरू पुरुषभन्दा महिलालाई काममा राख्न रुचाउँछन्। किनकि उनीहरूबाट काम धेरै लिएर कम ज्याला दिए पनि हुने सोच राख्छन्।

महिलाले समान ज्याला पाउनुपर्छ भनेर विभिन्न संघसंस्थाबाट पटकपटक आवाज उठाए पनि त्यसको सुनुवाइ भएको छैन। आजको युगमा पनि महिलाले समान कामको समान ज्याला पाएका छैनन्। महिलालाई हेर्ने दृष्टिकोण नै विभेदपूर्ण छ। महिलालाई कमजोर ठान्नु, महिलाले धेरै राम्रो काम गर्न सक्दैनन् भन्नु गलत हो।

त्यसैले पुरुषको तुलनामा महिला कमजोर छैनन्। हिजो मात्रै नभएर आज पनि वैदेशिक रोजगारीमा पुरुषजसरी महिला पनि बिदेसिएका छन्। स्वदेशमै पनि आयआर्जनलगायत विभिन्न क्षेत्रमा पुरुषभन्दा महिला अगाडि छन्। तर पनि महिलालाई हेर्ने दृष्टिकोणमा भने भिन्न छ र ज्यालामा विभेद छ।

मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ समान कामको समान ज्याला हुनुपर्ने माग उठाउँदै आए पनि कार्यान्वयन हुन नसकिरहेको बताउँछन्। ‘अनौपचारिक क्षेत्रमा धेरै विभेद छ,’ उनी भन्छन्, ‘समान कामको समान ज्याला नै छैन। एक त काममै विभेद छ। पुरुषले जसरी महिलालाई काम पाउनै गाह्रो छ। काम पाएकै खण्डमा पनि पारिश्रमिकमा ठुलो विभेद छ।’

महिला श्रमिकहरू लामो समय काम गर्न मात्र नभएर कार्यस्थलमा हुने विभेद र दुव्र्यवहार भोग्न पनि विवश रहेको उनी बताउँछन्। ‘समान काममा फरक ज्याला हुनु भनेको संविधानविपरीत काम हो, नैसर्गिक मानवअधिकारको उल्लंघन हो। त्यसकारण यस्तो हुनुहुँदैन,’ उनी भन्छन्, ‘महिला वा पुरुषले ढुंगा बोके पनि डोको एउटै हो, काम उत्तिकै हो। त्यसकारण पारिश्रमिक पनि बराबर हुनुपर्छ। त्यसो गर्न नसक्नु अपराध हो।’ उनका अनुसार अनौपचारिक क्षेत्रमा ८० प्रतिशतभन्दा बढी श्रमिकले काम गर्ने गरेका छन्।

नेपालको संविधान २०७२ को धारा १८ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख छ। त्यसै धाराको उपधारा ४ मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिनेछैन भनी उल्लेख गरिएको छ। नेपालमा कानुनी व्यवस्था त छ तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो छ। यसलाई प्रभावकारी बनाउन स्थानीय तहले नै गहन रूपमा कानुन कार्यान्वयनमा लाग्नुपर्ने जिफन्टका अध्यक्ष श्रेष्ठ जोड दिन्छन्।

प्रकाशित: १९ वैशाख २०८१ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App