जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
काठमाडौं विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामो शाहले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार गिडिदहको सानो र ठुलो दहको गरी कुल तालको गहिराइ ४२.३ मिटर, लम्बाइ १ हजार ५ सय १० मिटर छ।
यसमा ठुलो तालको लम्बाइ १ हजार ६० मिटर र चौडाइ ३ सय १० मिटर छ भने गिडिदहकै सानो तालको लम्बाइ ४ सय ५० मिटर, चौडाइ २ सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको शाहले बताइन्।
समग्र गिडिदह २९.११ हेक्टर क्षेत्रफलमा फैलिएको उनी बताउँछिन्। गिडिदहवरिपरि राष्ट्रिय महत्व बोकेका १८ प्ररकारका चरा, सात प्रकारका स्तनधारी जनावर र ७४ प्रकारका चराचुरुंगी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
पछिल्लो समय अध्ययन गरिएको जुम्लाको डिगिदह तालको गहिराइ ४२.३ मिटर छ। जुम्लाको गिडि दह (ताल) कर्णालीको तेस्रो ठुलो तालमा गणना भएको छ। गिडिदह ताल अध्ययन गर्नका लागि विश्वविद्यालयको टिमले नौ दिन लगाएर लम्बाइ, चौडाइ, गहिराइ, वन्यजन्तु, रुख बिरुवा र क्षेत्रफललगायतका पक्षको अध्ययन गरेको थियो।
तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले समुद्री सतहदेखि तीन हजार चार सय ८५ मिटरको उचाइमा गिडिदह रहेको बताए। कर्णाली राजमार्गको हाँकुबाट गिडिदहसम्मको दुरी २९ किलोमिटर छ। गिडिदहसम्म पुग्ने बाटोमा फूलचौल्या र बाईस पाटनलगायतका पर्यटन क्षेत्र पर्छन्।
पूर्वाधार विकासका लागि डिपिआर, वातावरणीय प्रभाव मूल्यांकन, धर्मशाला र पदमार्ग निर्माणलगायतका काम भएको छ। गिडिदह सम्मेलन गरी गिडिदह घोषणापत्रसमेत सार्वजनिक गरिएको अवगत गराएका थिए।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायत राष्ट्रिय ताल संरक्षण समितिको पाँच लाख र गाउँपालिकाको १० लाख गरी जम्मा १५ लाख रुपैयाँको लागतमा दहको नापजाँच गरिएको बताउँछन्। गिडिदहसम्म जाने २७ सय मिटर घोरेटो बाटो छ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाईका अनुसार पहिलोपटक २०७९ असोज ३ देखि ६ सम्म ८४ सदस्यीय सरकारी टोली गिडिदह पुगेको थियो।
प्रकाशित: १५ वैशाख २०८१ १०:२५ शनिबार