१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्रका पूर्व एआईजी श्रेष्ठ कुटिएको घटना प्रहरीले अनुसन्धान गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भित्र आइतबार बिहान कुटिएका राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा ठाडो निवेदन दिएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले ठाडो निवेदन परेको र त्यसमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। ‘अनुसन्धान चलिरहेको छ’, उनले नागरिकन्यूजसँग भने।

आइतबार बिहान राप्रपाले कार्यसम्पादन समितिको बैठक डाँकेको थियो। बैठकको बिचमा खाने खाने समयमा पूर्वएआईजी श्रेष्ठ केही युवाहरूबाट कुटिएका थिए।

श्रेष्ठले प्रहरीमा किटानी जाहेरी नदिएको अधिकारीले बताए। ठाडो निवेदनका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।  

यता राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए। ‘प्रहरीमा निवेदन परेको छ। प्रहरीले अनुसन्धान गर्छ’, उनले भने।

आइतबार बिहान राप्रपा कार्यालयमा भएको कुटाकुटको भिडियो पनि सार्वजनिक भएको थियो। बैठकको बिचमा खाना खाने समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाट नेताहरू रविन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल र ज्ञानेन्द्र शाहीको समूह पनि बाहिर निस्किएपछि कुटाकुट भएको थियो।

एक जना व्यक्ति भाग्दै आएर अध्यक्ष लिङदेनको कक्षमा छिर्न खोज्दा उनी माथि केही युवाहरूले कुटपिट गरेका थिए।

राप्रपाले नयाँ गठबन्धन सरकारमा नजाने स्पष्ट पारिसकेको छ। राप्रपा अहिले राजसंस्था फर्काउने र हिन्दु राज्य कायम गर्ने माग सहित आन्दोलनमा छ।  

प्रकाशित: २८ फाल्गुन २०८० १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App