महिला–पुरुष बराबर हुन् भन्ने प्रमाणित गर्दै छन् आजका महिला। आज जुन जोस, जागर र उत्साहसाथ आफ्नो अधिकारका लागि लडिरहेका छन्, सोहीअनुसार आफूलाई योग्य प्रमाणित गर्दै अघि बढिरहेका छन्। यसलाई नारीको ठुलो उपलब्धि मान्नुपर्छ।
विभिन्न बाधाबिच महिलाले पाएका सफलता सह्राहनीय छन्। तर दुर्भाग्य भनौं, एकातिर राजनीति र समाजसेवा गने अगुवाहरूले नारी दिवस मनाउने क्रममा महिलाहरूको हकहितमा भाषण गरिरहेका छन् तर नारीहरू दिनहुँ हिंसामा परिरहेका खबरले मन छिया छिया भएर आउँछ।
घरेलु हिंसा, दाइजो प्रथा, बलात्कार, तेजाव प्रकरण, मानसिक हिंसाबाट उम्कन नसकेका घटना दिनहुँ घटिरहेका छन्। धेरै महिला यस्ता काण्डमा फसिरहेका छन्।
के आजको नारी दिवस हरेक घर, पेटी, गल्ली, समाजमा पुगेको छ? के नारी दिवस एक दिनको नारा मात्र हो र? यो बहसको विषय हो। के ग्रामीण भेगका गरिब महिलाले नारी दिवसको महत्त्व बुझेका छन्? नारी दिवसले नारीलाई सशक्त बन्न प्रोत्साहन गरेको छ? नारी दिवसको महत्त्व झुपडीका महिलामा पुगेको छ भन्न गाह्रो छ।
महिनावारी हुँदा प्याड लगाउन नजान्ने महिला हाम्रै समाजमा छन्। महिनावारी हुँदा कोठामा बन्द हुनुपर्छ भन्ने सोच हाम्रै समाजमा अझै छ।
सुत्केरीमा पेटभरि खान नपाउने नारी अझै छन्। आङ ढाक्ने कपडा नपाएर लथालिंग परेका नारी कति छन् कति। आफ्नो अधिकार र सुखसुविधाबाट धेरै नारी वञ्चित हुनुपरेको छ।
नारीमाथि गर्ने गाली र लाञ्छना त छँदै छन्, यौन दुराचार, घरेलु हिंसा, मानसिक हिंसासमेतले नारीलाई भित्रभित्रै टोकसिरहेको छ।
विश्व ग्लोबल भिलेजमा रूपान्तरित भएको छ। २१औं शताब्दीको अत्याधुनिक समयमा छौं हामी। एउटै मोबाइल सेटमा दुनिया अटाइसकेको छ र त्यसलाई दुई औंलाले नियन्त्रण गरिरहेका छौं। तर पनि नारीलाई हेर्ने दृष्टिकोणमा उल्लेख्य सुधार हुन सकेको छैन। त्यही भएर नारीलाई हेप्नेदेखि लाचार बनाउनेसम्मका खेल भइरहेकै छन्। कमजोर बनाउनेदेखि निचोर्नेसम्मका हर्कत यहाँ भइरहन्छन्। समय बदलियो भनेर भन्नु पनि गलत हुन्छ हेर्ने आँखा पुरानै भएपछि।
हुन त आज धेरै महिला विभिन्न बाधालाई पार लगाउँदै हरेक क्षेत्रमा अघि बढ्दै छन्। यसका उदाहरण जताततै छन्। राजनीति, न्याय, शिक्षा, खेलकुद, साहित्य, कला लगायत जुनसुकै क्षेत्रमा महिलाले गरिमामय उपस्थिति जनाएर आफ्नो भूमिका पूर्ण गरेका देखिन्छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, नायिका भुवन चन्द आदि नारीको कार्यगत भूमिका कुनै पुरुषका भन्दा कम छैन। हरेक क्षेत्रमा पहुँचवाला बन्नु र उच्च ओहोदामा पुग्नु महिलाका लागि आवश्यकता भएको छ। हरेक महिलाले एक दिन नारी दिवस पर्खनुभन्दा हरेक दिन नारी दिवस हुने वातावरण बनाउनुपर्छ।
कतै पनि महिला हिंसाको खबर सुन्न नपरोस्, हरेक नारी स्वतन्त्र भएर काम गर्ने वातावरण बनोस्, हिँड्दा आफू सुरक्षित भएको महसुस होस्, हरेक महिलालाई क्षमता अनुसारको अवसर प्राप्त होस्। नारीलाई सम्मानजनक रूपले हेरियोस्। कतै पनि महिला हिंसाको खबर सुन्न नपरोस्।
विश्वमा धेरै महिला अघि बढेका छन्, जिम्मेवारी बुझेका छन्, महिला–पुरुष बराबर भएका छन्। तर हामी अझै आफ्नो घरमै पनि आनन्दको सास फेर्न सकेका छैनौं। महिलाले सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन नसक्नु दुःखद कुरा हो।
२१ औं शताब्दीमा पनि बालिकाले उचित शिक्षा पाउन सकेका छैनन्। सरल जीवन बाँच्न पनि धेरै बाधाअड्चन पार गर्नुपरेको छ। महिलाले सफलता पाए भने दुनिया कुरा काटेर बदनाम गराउन तल्लीन हुन्छ। असफल हुँदा त्यसरी नै तल पारेर कुरा गरिदिन्छन्। विभेदका रूपमा हेर्ने र सम्बोधन गर्ने चलन हटेकै छैन।
कानुनले नै श्रममा नारीपुरुषबिच विभेद छैन भन्छ तर विभेद व्यवहारमा स्पष्ट देखिन्छ। महिलाले साथ, समर्थन र हौसला पाएको खण्डमा थुप्रै ठुला काम गर्न सक्छन्। यसका उदाहरण धेरै छन्। सबै महिलाले न्याय र अधिकार पाउनु जरुरी छ ।
प्रकाशित: २६ फाल्गुन २०८० ११:१८ शनिबार