दुई वर्ष टेलिभिजन लगभग हेरिनँ। भनौं भने हेर्नै सकिनँ। हेरौं पनि कसरी ? मैले पाँच वर्ष इन्जिनियरिङ डिग्री हासिल गरेको ठाउँ खार्कोभ, युक्रेन सोभियत समाजवादी गणतन्त्रको पुरानो राजधानी। मलगायत नेपालका युवाहरूलाई छात्रवृत्ति प्रदान गरेर उच्च शिक्षाको अवसर खडा गर्ने सोभियत संघको राजधानी मस्को, जुन हाल रसियन फेडेरेसनको राजधानी हो। यी दुवै एकापसमा लड्दै छन्, काटमार गर्दै छन्।
त्यो हिउँ, त्यो छ महिना बरफ जम्ने कठ्यांग्रिँदो चिसो, बमबारी, त्रासदी र अनिदा रातहरू। अहो ! यो विनाश म कसरी हेर्न सक्छु। तथापि लेख्न कस्सिएको छु– यो युगको पीडा। सम्झँदा पनि चिस्याइलो लाग्छ। म कसरी हेर्न सक्छु आफ्नो सोभियत आमाको एकै आह्वानमा मातृभूमिको रक्षार्थ एक एक करोडको बलिदान दिने भाइहरू आज बन्दुकको ट्रिगर दबाएर एकापसका विरुद्ध नाल सोझ्याउँदै छन्।
दोस्रो विश्वयुद्धताका फाँसीवादले खर्लप्प निलेको मुलुकको मुक्तिका लागि हाँसी हाँसी ज्यान दिएर विजयको विश्व इतिहास रच्ने सोभियत वीरका सन्ततिहरू एकअर्कालाई सिध्याउन लागिपरेका छन्।
२४ फेब्रुअरी २०२४ मा रुसी महासंघद्वारा युक्रेन लक्षित ‘विशेष सैनिक अपरेसन’ दुई वर्ष पुगेको छ। विश्व मानव इतिहासमा यो अत्यन्त दुःखद घटना हो। सृष्टिको पहिलो बिहानीदेखिका दाजुभाइ, करिब एक शताब्दी एउटै लक्ष्य र सिद्धान्त बोकेर एउटै सोभियत देश निर्माणमा जुटेका सहयात्री, काँधमा काँध मिलाउँदै एउटै ट्रेन्चबाट नाजी फासिस्ट विरुद्ध लडेका सहयोद्धा एकापसका दुस्मनमा परिणत भएका छन्।
योभन्दा दुःखद त एक्काइसौं शताब्दीको उत्तरार्र्ध, जसलाई मानव सभ्यतामा विज्ञान र प्रविधिको उच्चतम उपलब्धि हासिल भएको युग मानिन्छ, मा पनि लाखौं युक्रेनी र रुसी जनताले कति सास्ती खप्नुप¥यो, कति भूतलमा गएर लुक्नुपर्यो र कति त्रासदी भोग्नुपर्यो, युक्रेनको धरतीमा असंख्य मृत्युहरू मडारिए, गोलीहरू पड्किए, गोलाबारी र अन्य भयानक दुःस्वप्नहरू ओइरिए।
संसारका धेरै देशले यसलाई रुसी आक्रमणको संज्ञा दियो भने रुसी सरकारले यो हस्तक्षेपलाई युक्रेनलाई नवनाजीबाट मुक्त पार्ने अभियान भन्यो।
हस्तक्षेपपूर्वको सम्बोधनमा राष्ट्रपति भ्लादिमिर पुटिनले बरु स्टालिनले पूर्वरुसी साम्राज्यअन्तर्गतका राज्यलाई स्वायत्त गणतन्त्रको रूपमा राख्न चाहेको तर लेनिनले सार्वभौम राष्ट्रकै दर्जा दिएकोमा रोष प्रकट गरेका थिए।
यो विशेष सैनिक अप्रेसनले युक्रेन र रुसमा मात्र नभई विश्व अर्थतन्त्रमै कुप्रभाव पर्यो। शताब्दीको पूवाद्र्धदेखि नै विभिन्न आर्थिक मन्दी झेल्दै आएको विश्व कोरोना प्रकोपबाट यसो के तंग्रिन खोजेको थियो, युक्रेन संकटले त्यो खोस्यो।
बीसौं शताब्दीको उत्तरार्र्धमा व्याप्त अफगान संकट शीतयुद्धको चरमचुलीमध्ये एक थियो र यसका लागि सोभियत सेनाको उपस्थितिलाई प्रमुख कारक मानिएको थियो। सन् १९८९ को फेब्रुअरीसम्ममा सोभियत सेना अफगानिस्तानबाट फिर्ती भयो तर युद्ध सन् २०२१ सम्म नै जारी रह्यो।
सोभियत संघको अवसानसँगै विश्व राजनीतिमा करिब एकध्रुवीय विश्व खडा भयो। योसँगै ९ नोभेम्बर १९८९ मा बर्लिन पर्खाल ढलाइलाई निस्सन्देह शीतयुद्ध अन्त्यको चिह्न ठानिएको थियो र यसलाई राजनीतिकवादबिचकोे संघर्षको विश्राम भएको मानिएको थियो। तर पर्खाल भत्काइनुले संसारमा विद्यमान अन्तर्विरोध, द्वन्द्व र राजनीतिक ध्रुवीकरणलार्ई रोक्न सकेन। बरु इरान, इराक, लिबियामा युद्धहरू भइरहे।
आखिर किन भयो युक्रेन संकट ?
दोस्रो विश्वयुद्धपछि सन् १९४९ मा अमेरिकी नेतृत्वमा ‘उत्तर एटलान्टिक गठबन्धन (नाटो)’ स्थापना भएको थियो। यसको उद्देश्य सोभियत संघ र त्यसअन्तर्गतका साम्यवादी शिविरले खडा गर्न सक्ने खतराको सामना गर्ने थियो। यसलगत्तै मे १४, १९५५ मा तत्कालीन समाजवादी देशहरूले बार्सा सन्धि गरे र वैकल्पिक सुरक्षा संगठन स्थापना गरे। यससँगै शीतयुद्धको युग सुरु भयो।
सोभियत संघ र बार्सा सैनिक संगठन विघटनको पूर्वसन्ध्यामा सन् १९९१ मार्च ६ मा बोनमा भएको बैठकमा अमेरिका, ग्रेट ब्रिटेन, फ्रान्स र जर्मनीका प्रतिनिधिहरूले सोभियत नेतृत्वलाई पूर्वमा नाटो विस्तार नगर्ने वाचा गरेका थिए। सहमतिलगत्तै सन् १९९१ जुलाईमा सोभियत शिविरले ‘बार्सा सम्झौता’ समाप्त गरेको घोषणा गर्यो।
यसले विश्वशान्तिलाई मार्ग प्रशस्त गर्ने विश्वास लिइएको थियो। गोर्वाचोभको यो लचकताको बदला त्यो बेला संयुक्त राज्य अमेरिकाबाट ‘पूर्वबार्सा प्याक्ट राष्ट्र नाटोको हिस्सा बन्ने छैनन्’ भनेर सहमति भएको थियो।
इतिहासको त्यो बाचा विपरीत समयक्रममा अल्बानिया, बुल्गेरिया, क्रोएसिया, चेक, डेनमार्क, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, नर्वे, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, स्लोभेनियासम्म नाटो विस्तार गरियो। सेप्टेम्बर २०२२ मा युक्रेनले नाटो सदस्यताका लागि आवेदन दियो।
एकपक्षीय लचकताको अर्को उदाहरणः रुसमा प्रजातन्त्रको उदय सँगसँगै प्रथम राष्ट्रपति बोरिस यल्त्सिनको अमेरिका र पश्चिमाहरूप्रति अचम्मको क्रेज र मेलमिलापमा रहने उत्कण्ठ चाहना थियो। १७ जुन १९९२ मा यल्त्सिनले अमेरिकी कांग्रेससामु गर्नुभएको सम्बोधनमा यो भावना प्रखरित छ।
वक्तव्यमा राष्ट्रपति भन्नुहुन्छ, ‘अब संसारले सहज सास फेर्न सक्छ। पृथ्वीमा जताततै सामाजिक विद्वेष, वैमनस्य र क्रूरता छर्ने, मानव समुदायमा भय जगाउने कम्युनिस्ट मूर्ति ढल्यो। ‘म तपाईंहरूलाई आश्वस्त पार्न यहाँ छु, हाम्रो पृथ्वीमा, हामी उसलाई फेरि उठ्न दिनेछैनौं। धेरै वर्षसम्म हाम्रा राज्यहरू दुई चरम विपरीत ध्रुवमा थिए। अब यो सैतानी परिदृश्य विगत भएको छ।’
रुसी प्रजातन्त्रका पिता बोरिस यल्त्सिनका सदाशयतालाई पछिल्ला विकासक्रमले थाँती लगाइदियो। सिधा हिसाबले भन्नुपर्दा नाटोलाई चुनौती दिन गठित ‘बार्सा प्याक्ट’ नै नरहेपछिको करिब एकध्रुवीय भइसकेको विश्वमा नाटोको औचित्य समाप्त हुनुपर्ने हो अथवा त्यो स्वतः भंग हुनुपर्ने हो।
अझ शीतयुद्धको कारक मानिएको विचारधाराको युग नै समाप्त भएपछि नाटो किन रुस घेर्न आइपुग्यो? रुसको नाकैमुनि नाटो विस्तारको कदम र युक्रेनको नाटोमा आबद्ध हुने रहर हालको द्वन्द्व र संकटको सुरुवाती जरो हो कि?
१९९० को परिवर्तनको हुरीसँगै पूर्व सोभियत राष्ट्रहरूमा बहुदल र बहुलवादको प्रवेश भयो। सोभियत संघको विलयसँगै त्यसमा आबद्ध देशहरू धेरै वर्ष संक्रमणकालको अस्थिरतामा गुज्रिए।
सन् २०१० को चुनावमा देशलाई असंलग्न राख्न रुचाउने भिक्टरयानुकोभिच राष्ट्रपति निर्वाचित भएपछि युक्रेनले नाटो सदस्यताको योजनालाई स्थगित गर्यो।
यसलगत्तै सन् २०१३ को नोभेम्बरदेखि युक्रेनको राजधानी किभमा सरकार विरोधी प्रदर्शन सुरु भयो। जसले युगौंदेखि मिलिजुली बसेको बहुरंगी समाजमा भाषिक, जातीय विभाजनको बीज रोप्यो र देशमा सामाजिक–आर्थिक अराजकता फैलायो। बाहिरबाट हेर्दा यसको रूप राष्ट्रवादी थियो तर सारमा यो स्वेच्छाचारी थियो र गृहयुद्धको सुरुवात भयो।
महिनौंको जुलुस, टायरको राँको एवं धुवाँ प्रदर्शन र धर्नापछि फेब्रुअरी २०१४ मा युक्रेनमा राजनैतिक ‘कू’ भयो र एउटा निर्वाचित सत्ता फ्याँकियो। यसलाई प्रचारको दुनियामा ‘मैदान रिभोलुसन’ भनिन्छ।
युरोमैदान आन्दोलनका कारण उत्पन्न अशान्तिबिच यानुकोभिच युक्रेनबाट भागे। यसपछि युक्रेनमा कट्टरपन्थी राष्ट्रवादी शक्तिको स्थिति बलियो भयो र खुलेआम जातीय असहिष्णुका विचार हाबी भयो।
‘मैदान रिभोलुसन’पछि त्यहाँ इतिहासलाई पुनः परिभाषा गर्न थालियो। सोभियतकालीन धेरै सालिकहरू उखाडिए। यस क्रममा दोस्रो विश्वयुद्धताका घोषित नाजीवादीहरूलाई त्यहाँ स्वतन्त्रता सेनानीका रूपमा प्रस्तुत गरियो। यो इतिहास तोडमरोड गर्ने र परिभाषाहरू उल्ट्याउने हर्कतलाई रुसी संस्थापन पक्ष नाजीवादको महिमा गाउन थालिएको भन्छ।
२२ फेब्रुअरी २०१४ देखि किभका अधिकारीहरूले रुसी भाषीको अधिकारलाई दबाउन सक्रिय नीति सुरु ग¥यो। सन् २०१४ मार्चमा क्राइमिया प्रायद्वीप रुसी महासंघमा गाभिएपछि युक्रेन संकट चरमचुलीमा पुग्यो। यस घटनापछि पश्चिम राष्ट्रले रुसविरुद्ध नाकाबन्दी लगाउन सुरु गर्यो।
असहिष्णुताको लहरबिच २ मे २०१४ मा ओडेसाको ट्रेड युनियन भवनमा राष्ट्रवादीहरूले आगजनी गरेर १६ वर्षे कम्सोमोलेच भादिम पपुरासहित दर्जनौंलार्ई निर्ममतापूर्वक गरेको हत्या आपैmंमा त्रासदीपूर्ण थियो। यी घटना १९१८ को ओडेसा बोल्सेभिक क्रान्तिपछिको सबैभन्दा रक्तपातपूर्ण गृह संघर्ष थियो र हामी सोभियत युगमा अध्ययन गरेर फर्कनेका लागि एकदमै अपत्यारिलो थियो।
२३ मे २०१७ मा तत्कालीन राष्ट्रपति पेट्रो पोरोसेन्कोको पहलमा टेलिभिजन र रेडियो प्रसारण कानुनमा संशोधन गरियो र युक्रेनमा रुसी टिभी च्यानल एवं चलचित्रहरूको प्रदर्शनमा प्रतिबन्ध लगाइयो। ५ सेप्टेम्बर २०१७ मा युक्रेन संसद्ले शिक्षासम्बन्धी कानुन संशोधन ग¥यो। अब पाँचौं कक्षादेखि रुसी र अन्य भाषामा पठनपाठन नगरिने भयो।
युक्रेन युद्धको मनोप्रभाव
यो पक्तिका लेखक स्वयं सन् २०१५ देखि आफ्नो अध्ययनभूमि खार्कोभमा घटेका अतिवादी घटनाहरूको प्रत्यक्षदर्शी थियो। त्यहाँ नेसनल कोप्र्सका ठिटाहरूको उरन्ठेउला हर्कत ‘लाइभ’ हेर्दा ऊ निरास हुने गथ्र्यो। मे २०१६ मा खार्किभ क्षेत्रीय राज्य प्रशासनले सहरका विभिन्न स्थलहरूको पुनर्नामकरण गर्ने निर्णय गर्यो।
यससँगै दोस्रो विश्वयुद्धका विजय लेजेन्ड सोभियत मार्सल झुकोभको नाममा रहेको मेट्रो स्टेसनलाई ‘स्पोर्ट प्यालेस’ र ‘मार्सल झुकोभ प्रोस्पेक्ट’ लाई पेटर ग्रिगोरेन्को प्रोस्पेक्ट’मा परिवर्तन गरियो।
१९ जुन २०१६ मा खार्किभ सिटी काउन्सिलले ‘नाजीहरूको कब्जाबाट खार्कोभ स्वतन्त्र गर्न मार्सल झुकोभको नेतृत्वदायी भूमिका रहेको’ भन्दै सडकको नामकरण पुनः ‘मार्सल झुकोभ प्रोस्पेक्ट’मा फिर्ता गर्यो।
राज्य प्रशासनको यो निर्णयबाट क्रुद्ध राष्ट्रवादी युवा जमातले आफ्नो दादागिरी तुरुन्तै प्रदर्शन गर्यो र प्रशासनका पदाधिकारीहरूको ‘पुुतला’ बनाई तिनलाई सहरको केन्द्र भागस्थित स्वतन्त्रता स्क्वायरमा फाँसी दिएको दृश्य इन्टरनेटबाट लाइभ प्रसारण देखियो।
यस्ता गतिविधिहरू ‘खार्कोभ लाइभ’बाट दिनहुँजसो देख्नुपर्दा अहो कस्तो देशमा कस्ताको हालीमुहाली हुन थालेछ, सर्वसाधारणले टुलुटुलु हेरेर बस्ने दिन आएछन् भन्ने भान हुन्थ्यो यो पंक्तिकारलाई। जस्तोसुकै राजनीतिक र कुटनीतिक रूप दिन खोजिए पनि सारमा यो अरूको भाषा, संस्कृति र राष्ट्रियतालाई नचाहने नवनाजीवादको अभ्यास थियो र अहिलेको युक्रेन संकटको विभिन्न सामरिक कारणमध्ये यो एउटा मूल कारण थियो।
प्रचारप्रसार र मिडियाको मामलामा पहिलेका सोभियतहरूजस्तै रुसीहरू पनि पिछडा छन्। बिबिसी, सिएनएनजस्ता स्वतन्त्र नामधारी मिडिया उनीहरूसँग छैनन्। न द्वितीय विश्वयुद्धपूर्वका बेलायत, फ्रान्स, स्पेन साम्राज्यजस्तै औपनिवेशिक भाषिक प्रभावमा उनीहरूको वर्चस्व छ।
अहिले विश्व मिडिया र सामाजिक सञ्जालमा कसको वर्चस्व छ भनिरहनुपर्ने कुरा होइन। रुसीहरूको गुनासो चाहिँ विश्वभरका सञ्चार माध्यमले रुसको युक्रेनमाथिको ज्यादती मात्र देख्छन् तर किन उनीहरू सन् २०१४ देखि युक्रेनका रुसीमूलका नागरिकमाथि भएको विभेद र अत्याचार देख्दैनन ? किन उनीहरू युक्रेनले दनेच्क र लुगान्स्कमाथि एक तर्फी गोलाबारी गरिरहँदा र त्यहाँका रुसीमूलहरूले पानी र बिजुलीको अभाव भोगिरहँदा पनि चुँसम्म बोल्दैनन् ? भन्ने रहँदै आएको छ।
सबै कुराको फेहरिस्त यो सानो लेखमा सम्भव छैन। मात्र यति भन्न सकिन्छ कि अमेरिकाको खुसीका लागि सोभियत संघ टुक्र्याइयो, बार्सा सैनिक गठबन्धन भंग गरियो, हरेक सहरबाट लेनिनका सालिक ढालिए, इतिहासका तथ्यलाई तोडमरोड गरियो अथवा पुनर्लेखन नै गर्न थालियो।
तैपनि ऊ अर्थात् अमेरिका खुसी भएन। उसले नाटोमा रुसकै पुराना भाइहरूलाई आबद्ध गर्दै गयो, मानौं रुसविरुद्ध मोर्चाबन्दी गर्दै उसकै नाकमुनि अर्थात् उसकै सहोदर भाइको साँधमा सुरक्षारूपी अखडा जमाउने मनसाय ग¥यो। लगत्तै रुस–युक्रेन युद्ध सुरु भयो।
इतिहासको आदिकालदेखिका दाजुभाइ, सत्तरी वर्ष एउटै लक्ष्य र मिसन बोकेर साझा सोभियत सभ्यता निर्माणमा जुटेका सहयात्री, काँधमा काँध मिलाउँदै एउटै मोर्चाबाट नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धा एकापसका दुस्मनमा परिणत भए। समयक्रममा त्यो नाटो, जसविरुद्ध उनीहरूले बार्सा सैनिक संगठन खोलेका थिए, युक्रेनलाई त्यही नाटोको सदस्यता लिन मोह जाग्यो।
माथिका विविध घटनाक्रमले पुष्टि गर्छन् कि हालको युक्रेन युद्धको अवस्था २४ फेब्रुअरी १९२२ मा रुसद्वारा सञ्चालित ‘विशेष सैनिक अपरेसन’ वा हस्तक्षेपबाट मात्र उत्पन्न भएको होइन, बरु यो विश्व राजनीतिक नक्साबाट रुसको भूमिकालाई हटाउने वा रणनीतिक हिसाबले पराजित गराउने नाटो राष्ट्रहरूको इच्छाको परिणति पनि हो।
यसका लागि युक्रेनी र रुसी जनताबिचको शताब्दी पुरानो सम्बन्ध तोड्नु सबैभन्दा पहिलो आवश्यकता थियो। त्यो एकप्रकारले तोडिएन मात्र, बरु हालको संकटलाई पूरापूर ‘रुस र युक्रेनबिचको द्विपक्षीय द्वन्द्व’का रूपमा विश्व रंगमञ्चमा प्रस्तुत पनि गरियो। मिडियाका कारण यसप्रकारको अभिप्राय प्रचारित भएको हो। इतिहासलाई यसरी मात्र परिभाषित गर्नु र हेरिनु पूर्णसत्य हुन सक्दैन। यो लेखनीको लेखकीय अभिप्राय हो।
वर्तमान युक्रेन युद्ध दशकौंदेखिका विविध घटनाक्रमको परिणति हो। आखिर देशहरू किन युद्ध चाहन्छन्? किन हतियारमा लगानी गर्छन्? योचाहिँ अहम् सवाल हो। युद्ध कसलाई आवश्यक छ? यो झन् रहस्यको विषय हो।
आज शक्तिराष्ट्रहरूले युक्रेनी बलबुता र जीवनलाई दाउ लगाएर युद्ध गरिरहेका छन् र यो अत्यन्त पीडादायी छ। ककसको स्वार्थले द्वन्द्वको यो अग्निमा घिउ थपिँदैछ, यसको मूल्याङ्कन इतिहासले गर्ला तर पीडा युक्रेनी नागरिकहरू भोगिरहेछन् र युक्रेनी–रुसी सैनिकहरू मरिरहेछन्।
विज्ञान, प्रविधि र कलासाहित्य क्षेत्रमा उपलब्धीको चुचुरोमा पुगेका र सभ्य भनाउँदा विकसित राष्ट्रले युक्रेनमा शान्ति कायम गर्ने सम्बन्धी कुनै ठोस चासो व्यक्त गरेनन्। युक्रेन युद्धको आगोमा जलिरह्यो। महाशक्तिहरू कसैबाट पनि आगो निभाउने प्रतिबद्धता आएन। अहो, बिडम्वना मानव सभ्यताको!
अरू राज्यको स्वनिर्णयको अधिकार र आन्तरिक मामिलामाथिको हस्तक्षेप नै वर्तमान द्वन्द्वको कारक तत्व हो। एकध्रुवीय हैकमवादको अन्त्य, हरेक राष्ट्र र तिनको सार्वभौमिकताको पूर्ण सम्मान, विविध सांस्कृतिक र सभ्यताको सम्मानमा आधारित बहुलवादमा केन्द्रित विश्व व्यवस्थाको स्थापना नै विश्व शान्तिको पहिलो सर्त हो।
महाशक्तिको दम्भमा कसैले विश्वका जुनै राष्ट्रका, जुनै कुनाका स्वतन्त्र मानिसहरूमा आफ्नो इच्छा थोपर्नु हुँदैन। यो पृथ्वी हाम्रो साझा ग्रह हो। यहाँ कसैको आधिपत्य स्विकार्य छैन। युक्रेन संकटले अंसलग्न परराष्ट्र नीतिको महत्वलाई उजागर गर्नुपर्ने गम्भीर सन्देश दिएको छ।
अन्य कारण जे भए तापनि उसले असंलग्न नीति मात्र अपनाएको भए यो सङ्कट आउँदैनथ्यो। यो दुई ढुंगाबिचको तरुल भनिएका र ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ गीत प्रिय लाग्ने सबैका लागि महत्वपूर्ण पाठ पनि हो।
प्रकाशित: १२ फाल्गुन २०८० ०६:५६ शनिबार