११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि विचराहरू पुर्पुरो समाउँदै थचक्कै बसे’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको जवाफले थचक्क बसेको टिप्पणी गरेका छन्।

शनिबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले देउवाले थाइल्यान्डबाट फर्किएलगत्तै सरकार ढल्दैन भनेर दिएको अभिव्यक्तिले हल्लाकारीहरूलाई निरुत्तर बनाएको बताए।

“शेरबहादुरजीले विमानस्थलबाटै सरकार ढल्दैन भनेपछि हल्ला गर्नेहरू खुइँ गरेर पुर्पुरोमा हात लगाएर थचक्क बसे,” ओलीले भने। उनले देउवाको जवाफले हल्लाकारीहरू थाकेर थुचुक्क बसेको र उनीहरूको भ्रम चकनाचुर भएको दाबी गरे।

प्रधानमन्त्री ओलीले देउवा थाइल्यान्ड भ्रमणमा रहँदा सरकार ढल्ने भन्दै विरोधीहरूले आगो बाल्न खोजेको उल्लेख गरे। “हिजोसम्म आगै बाल्न खोजेका थिए। देउवाजी फर्किनेबित्तिकै सरकार ढल्छ कि जस्तो पारेका थिए,” उनले भने। उनले यस्ता भ्रममा नपरी सांसदहरूलाई आफ्नो काममा केन्द्रित हुन र मिसन २०८४ को तयारीमा जुट्न निर्देशन दिए।

“भ्रम फिजाउने तत्वहरूले भ्रम फिजाइरहन्छन्। यस्ता हल्लाको पछाडि नलाग्नुस्, आफ्नो काममा लाग्नुस्,” ओलीले सांसदहरूलाई भने। उनले सरकार ढल्छ कि ढल्दैन भन्ने जिम्मेवारी आफूहरूलाई छाडेर सांसदहरूले जनताको काममा ध्यान दिनुपर्नेमा जोड दिए।

उनले नेपाली भाषा नबुझेरै केहीले भ्रम फैलाएको हुन सक्ने भन्दै व्यंग्य गरे। “मैले काममा लाग्नुस् भनेको, उनीहरूले प्रधानमन्त्रीले आश मारिसके भन्ने भाषा बनाए। नेपाली भाषा बुझ्दैनन् कि के हो, बुझिनँ,” उनले थपे।

प्रकाशित: १३ वैशाख २०८२ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App