२८ आश्विन २०८३ बुधबार
image/svg+xml
विचार

बढ्दो कृत्रिम बुद्धिमत्ता, खुम्चँदो मानव चिन्तन

कृत्रिम बुद्धिमत्ता (एआई) को फाइदा–बेफाइदाको वैश्विक बहस जुन स्तरमा पुगेको छ, त्यसलाई हेर्दा चाँडै यसको प्रयोगलाई लिएर कुनै ठोस नीति बनाइएन भने मानवकै अस्तित्वमाथि खतरा पैदा हुन सक्ने देखिएको छ। प्रमुख विश्वव्यापी एआई कम्पनी एन्थ्रोपिकका वरिष्ठ सुरक्षा अनुसन्धानकर्ता इभान हबिंगरले हालसालै एउटा दाबी प्रस्तुत गरेका छन् कि आउँदा केही वर्षमा एआईका कारण मानवको अस्तित्वमाथि संकट आउने १० प्रतिशतभन्दा बढी रहेको आशंका व्यक्त गरेका छन्। यस आकलनलाई वैज्ञानिक भविष्यवाणी नमाने तापनि यसले मानिसको स्वाभाविक बुद्धि र त्यसको विकासको बाटोमा अवरोध सिर्जना गरिरहेको तथ्य नकार्न नसकिने अवस्था छ ।

अमेरिकाको न्युयोर्क सहरमा केही दिनअघि जेनेरेटिभ एआईलाई लिएर बढेको चिन्ता प्रशासनको एउटा निर्णयमा पनि देखियो। त्यहाँका मेयर जोह्रान ममदानीले २०२६–२७ को शैक्षिक वर्षका लागि कक्षा दुईदेखि आठसम्मका विद्यार्थीले प्रयोग गर्ने ‘स्टुडेन्ट–फेसिङ जेनेरेटिभ एआई’मा एक वर्षको रोक लगाएका छन्। फलस्वरूप, सहरका करिब ६ लाख सार्वजनिक विद्यालयका विद्यार्थीहरू यस नीतिको दायरामा आएका छन्। साथै, प्रशासनले विद्यार्थीहरूको व्यक्तिगत ‘स्क्रिन टाइम’ सीमित गर्ने व्यवस्था गर्नुका साथै उच्च विद्यालयका विद्यार्थीहरूलाई वर्षमा दुई पटक एआई साक्षरता तथा त्यससँग सम्बन्धित आलोचनात्मक चेत/समझ विकास गर्ने ४५ मिनेटका कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

स्थानीय प्रशासनको तर्क यस्तो छ– प्रथमतः बालबालिकाहरूलाई आफैं सोच्न, बुझ्न र सिक्न दिनुपर्छ। उनीहरूलाई सिक्न तथा अगाडि बढ्नका लागि आफ्ना शिक्षकहरू र मानवीय सम्बन्धको नितान्त जरुरी हुन्छ। त्यसैले यस्ता कदमलाई एआईबाट टाढै राख्ने प्रविधि विरोधी निर्णय नभई यसको सावधानीपूर्वक प्रयोग गर्न सिक्नुपर्ने प्रावधानको रूपमा बुझ्नुपर्ने हुन्छ। अर्कातर्फ विज्ञान र कम्प्युटर विज्ञान सिकिरहेका विद्यार्थीहरूलाई यस्ता निर्णयले उनीहरूको ज्ञानमा संकुचन ल्याउने प्रबल सम्भावना रहन्छ।  

‘जेनेरेटिभ एआई’जस्ता उपकरणहरूले तथ्यहरूको जानकारी हासिल गर्ने बाटो सहज बनाइ दिएकाले यसको मद्दतले जुनसुकै विद्यार्थीले निबन्ध लेख्न, गणितका प्रश्नहरूको समाधान पाउन, कुनै पुस्तकको सारांश तयार पार्न लगाउन, प्रस्तुतीकरणका सामग्रीहरू खोज्नेजस्ता कार्यहरू केही सेकेन्डमै तमाम गर्न सक्छन् तर यहाँ एउटा आधारभूत प्रश्न उब्जिन्छ कि काम पूरा गर्नु र सिक्नु के एउटै कुरा हो त?  

विश्वको आर्थिक प्रगति र विश्व व्यापारका लागि काम गर्ने आर्थिक सहकार्य तथा विकास संगठनको ‘डिजिटल एजुकेसन आउटलुक–२०२६’ को रिपोर्टले यस भिन्नतातर्फ ध्यान आकृष्ट गरेको छ। यसका अनुसार सामान्य ‘जेनेरेटिभ एआई’को सहायताले विद्यार्थीहरूले अझ राम्रो उत्तर तयार पार्न सक्छन् तर यसको अर्थ उनीहरूको वास्तविक सिकाइ पनि त्यत्तिकै राम्रो भएको हो भनेर मान्न सकिँदैन।

केही अध्ययनहरूमा के पाइयो भने एआईको सहायताले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू वास्तविक परीक्षामा पछाडि नै पर्ने गरेको देखियो। खासमा बालबालिकाको मस्तिष्कले गर्नुपर्ने दिमागी मिहिनेत एआईको मद्दत लिएर मेसिनलाई सुम्पिए। एउटा बच्चालाई कुनै कठिन पाठ पढेर त्यसको अर्थ बुझ्न समय लाग्न सक्छ तर एआई उपकरणले केही सेकेन्डमै त्यसको सारांश तयार पारि दिन्छ। यहींनेर शिक्षा र प्रविधिबिचको वास्तविक भिन्नताको गहिरो खाडल गहन रूपमा बुझ्न जरुरी छ।

शिक्षाको उद्देश्य सधैं एआईजस्ता मेसिनको सहयोग लिएर समय बचाउनु मात्र होइन। कुनै कठिन समस्यामा अल्झिनु, गलत उत्तर दिनु, पुनः प्रयास गर्नु, किताबमा घोत्लिनु, शिक्षकसँग सोध्नु अनि अन्ततः समाधानसम्म पुग्नु सिकाइ प्रक्रियाको अहम पाटो हुन्।

एआईले हरेक कठिनाइ सुरु हुनुअघि नै त्यसको उत्तर प्रस्तुत गरिदिनाले विद्यार्थीले उत्तर त पाउला तर त्यहाँसम्म पुग्ने बौद्धिक क्रियाबाट विमुख हुन पुग्छ। फलस्वरूप खतरा एआईबाट होइन कि यसको समय अगावै र अविवेकपूर्ण प्रयोगबाट हुने हो। त्यसैले बालबालिका र विश्वविद्यालयका विद्यार्थीहरूलाई एउटै डालोमा हाल्नु त्यति उपयुक्त हुँदैन ।

सैद्धान्तिक रूपमा एआईलाई निगरानीको दायरामा ल्याइनुपर्छ, बेलगामको घोडाजस्तो कदापि छाड्नुहुँदैन। संसार बिस्तारै–बिस्तारै यसै मार्गतर्फ अघि बढिरहेको देखिन्छ। अस्ट्रेलियाले विद्यालयहरूका लागि राष्ट्रिय एआई नियमावली तयार पारेको छ। यसमा छ वटा प्रमुख आधारहरू समावेश छन्– शिक्षण तथा सिकाइ प्रक्रिया, मानव तथा सामाजिकता, पारदर्शिता, निष्पक्षता, जिम्मेवारी र गोपनीयताको सुरक्षा।

यसैगरी बेलायतको शिक्षा विभागले पनि विद्यालय र कलेजहरूलाई एआईको सुरक्षित प्रयोगका लागि तथ्यांकको नियमन र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयहरूमा तालिम सामग्री उपलब्ध गराइरहेको छ। अर्थात् बहस अब ‘एआई चाहिन्छ वा चाहिँदैन’ भन्नेमा नभई कुन उमेरमा, कुन उद्देश्यका लागि, कति मात्रामा र कसको निगरानीमा एआईको तालिम दिने? आदिको सेरोफेरोमा रहने देखिन्छ। नेपाललाई पनि यसै आधारमा राष्ट्रिय शैक्षिक एआई नीतिको टड्कारो खाँचो खड्किसकेको छ।

प्राथमिक शिक्षाको तहमा मानवीय संवाद, पढ्न–लेख्न, गणना गर्न र स्वतन्त्र सोच विकास गर्न प्राथमिकता दिइनुपर्छ। माध्यमिक शिक्षाको तहमा एआई साक्षरता सुरु गरी तयारी उत्तर लिनुको सट्टा यसका सीमा र जोखिमहरूका बारेमा बुझाउनु आवश्यक छ। उच्च कक्षामा एआईको प्रयोग शिक्षक नियन्त्रित होस् र विश्वविद्यालय तहमा यस प्रविधिलाई लिएर नयाँ मूल्यांकन प्रणाली अपनाउनुपर्छ। ओझेलमा परेका शिक्षकलाई पनि यस परिवर्तनको केन्द्रमा राख्नुपर्छ।

शिक्षाको भविष्य कति शक्तिशाली एआई छ भन्ने कुराले तय गर्दैन, बरु यो उपलब्ध हुँदाहुँदै पनि विद्यार्थीहरू स्वयं कत्तिको सक्षम छन् भन्ने कुराले आगामी मार्ग निर्धारण हुनेछ। नभुलौं क्याल्कुलेटरले गणित सिकाइ समाप्त पारेन, कम्प्युटरले बुद्धिलाई मन्द पारेन र इन्टरनेटले शिक्षकलाई अप्रासंगिक बनाएन। भविष्य खातिर ज्वलन्त प्रश्न के हुन्छ भने एआई कति बुद्धिमान भयो भन्ने हुने छैन? बरु हामी स्वयंले हाम्रै सन्ततिका लागि अझ बुद्धिमान बन्नका लागि कति अवसर छोडेका छौं? भन्ने हुनेछ ।

एआई अब वैज्ञानिक र प्रविधि कम्पनीहरूले मात्र छलफल गर्ने प्रविधिगत अवधारणा रहेन। यो विश्वभरका कक्षाकोठा, शिक्षकका फोन, विद्यार्थीका गृहकार्य, भाषा सिकाउने प्लेटफर्म र शैक्षिक संस्थाहरूमा प्रवेश गरिसकेको छ।

पठनपाठनका योजनाहरू बनाउने र जटिल अवधारणाहरू बुझाउनेदेखि लिएर व्यक्तिगत सिकाइमा सहयोग प्रदान गर्नुका साथै एआई द्रुत रूपमा शैक्षिक क्रियाकलापको अपरिहार्य हिस्सा बनिसकेकाले यसको माध्यमबाट कस्तो प्रकारको शिक्षा निर्माण गर्नेछौं भन्ने ज्वलन्त प्रश्न हो।

दशकौंदेखि शिक्षाले धेरै हदसम्म एउटा परिचित ढाँचालाई बढी पछ्याउँदै आएको छ– शिक्षकले बुझाउने, पाठ्यपुस्तकले जानकारी दिने र विद्यार्थीले परीक्षामा ज्ञान सम्झिने र प्रस्तुत गर्ने। एआईले यो ढाँचालाई चुनौती दिइसकेको छ किनभने जानकारी अब एक क्लिकमा उपलब्ध छ।

विद्यार्थीले गणितको समस्या हल गर्न, कठिन अनुच्छेदलाई सरल बनाउन, वाक्य अनुवाद गर्न, उदाहरणहरू सिर्जना गर्न वा कुराकानीको अभ्यास गर्न यसको प्रयोग थालिसकेका छन्। यसको सबैभन्दा ठुलो अवसर भनेको व्यक्तिगत सिकाइ हो। च्याटजिपिटी, भ्वाइस असिस्टेन्ट र ल्यांग्वेज एप्सजस्ता उपकरणहरूले तुरुन्त अभ्यास प्रदान गर्न, गल्तीहरू सच्चाउन, सरल शब्दहरूमा व्याकरण बुझाउन र बोल्ने तथा लेख्ने आत्मविश्वास बढाउन एक मूल्यवान साझेदार भएर उपस्थित छ।

दुर्गम वा स्रोत–साधनको कमी भएका क्षेत्रका विद्यार्थीहरूले पनि कुनै समय पहुँच बाहिर रहेका गुणस्तरीय शैक्षिक साधनहरू सहजै प्राप्त गर्न सक्छन्। एउटा मुख्य चिन्ता भनेको अत्यधिक निर्भरताको जोखिम हो। विद्यार्थीहरू उत्तरका लागि एआईमा मात्र निर्भर भए भने उनीहरूले आलोचनात्मक सोच, सिर्जनशीलता र समस्या समाधान गर्ने क्षमता गुमाउन सक्छन्।

अर्को जोखिम भनेको इन्टरनेटमा भएका सबै जानकारी सही वा भरपर्दो हुन्छन् नै भन्ने हुँदैन। उपयोगी र हानिकारक सामग्रीबिच फरक छुट्याउन विद्यार्थीहरूलाई मार्गदर्शन चाहिन्छ। धेरै देशहरूमा उन्नत प्रविधिको पहुँच अझै पनि सीमित छ। एआई उपकरणहरू धनी विद्यालय/विद्यार्थीहरूका लागि मात्र उपलब्ध भयो भने धनी र गरिबबिचको अन्तर अझ बढ्न सक्छ।

एआईको प्रयोग शिक्षकहरूलाई विस्थापित गर्नु नभई सहयोग गर्ने खालको हुनुपर्छ। शिक्षकहरूलाई मेसिनले विस्थापित गर्न मुस्किल छ किनकि सहानुभूति, अनुभव, मूल्य मान्यता, प्रोत्साहन र मानवीय सम्बन्धका पक्षहरू अनुभूतिजन्य हुन्छन्। उनीहरू आफ्ना विद्यार्थीको भावना, संघर्ष र सम्भावनालाई बुझ्छन्। एआईले जानकारीसम्म त देला तर शिक्षकले सिकाउने भावनात्मक संवेदना, प्रेरणा र दिशा दिन सम्भव हुँदैन।

शिक्षाको भविष्य मानव र मेसिनबिचको प्रतिस्पर्धा नभई एक साझेदारी हो। यसमा एआईको अधिकतम उपयोग गर्न शिक्षकलाई तालिम, विद्यालय र सरकार दुवैले स्पष्ट दिशानिर्देशहरू तय गर्ने, न्यून आय भएका ग्रामीण विद्यार्थीहरूमा प्रविधिको पहुँच पुर्‍याउने, विद्यार्थीको आलोचनात्मक सोच, सिर्जनशीलता, सञ्चार र चरित्र निर्माणमा ध्यान दिने, यसको नैतिक प्रयोगमा जोड दिनेजस्ता पक्षहरूमा सरोकारवालाहरूसँग बहस तथा छलफल गरी नीति निर्माण गर्नु एआईको सुरक्षित अवतरण हो।  

प्रकाशित: २८ आश्विन २०८३ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %