१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रूसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँचजना युक्रेनी सेनाको कब्जामा रहेका छन्।

यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन्। यसबाहेक के कति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन।

मन्त्रालयले हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। यसैगरी रूस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्।

त्यस्तै रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ।

रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडी मुलुकबाट त्यहाँ गएको पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रूस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए।

मन्त्रालयले नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रूस सरकारसँग अनुरोध गरेको छ। गत महिना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रूसका सहायक विदेशमन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रूसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउन छलफल गरेको मन्त्रालयले जनाएको छ।

नेपाली युवा रूसी सेनामा भर्ना भएका भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलोपटक प्रेस विज्ञप्तिमार्फत परम्परागत रुपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो।

त्यसैगरी मन्त्रालयले सरकारी कामकाज, रूस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर मात्र यात्रा गर्न अपिल गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ।

उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपिल गरेको छ।

नेपाल सरकारले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रूस सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकिन तथ्यांक प्राप्त हुन सकेको छैन। हाल परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहनुभएको र उहाँ स्वदेश फर्केलगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए।

मन्त्री साउदले करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुन सक्ने बताए। हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुन सक्ने उनको भनाइ थियो।  

मन्त्री साउदले नेपालस्थित रूसका राजदूतलाई मन्त्रालयमा बोलाएर नेपाल सरकारका चासो रूस सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएको बताए। साथै मस्कोस्थित नेपाली दूतावासलाई नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गर्न उनले निर्देशन दिएको जानकारी गराए। यससँगै युक्रेनमा बन्दी बनाइकाको हकमा युक्रेन सरकारको सम्पर्कमा रहेको र उद्धारका लागि आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी नराखेको मन्त्री साउदको भनाइ थियो।

पछिल्लो समय रूस–युक्रेन युद्ध चर्किदै गएपछि र ‘रेडजोन’ मा पठाउन थालेपछि रूसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्तमार्फत उद्धारको याचना गर्ने गरेका छन्। यही वर्षको दसैंलगत्तै रूसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुःखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्। सन् २०२२ फेब्रुअरी २४ देखि रूस र युक्रेनबीच युद्ध जारी छ। –रासस

प्रकाशित: २७ माघ २०८० १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App