१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

ग्वार्को फ्लाईओभरमा डेढ महिनाभित्र गाडी गुड्ने

नेपालमै पहिलो पटक प्रयोगमा आउन लागेको ग्वार्को फ्लाई ओभर (ओभर पास)मा यही जेठ मसान्तभित्रै गाडी कु्द्ने भएका छन्। ओभर पासको निर्माण जेठ मसान्तभित्रै सम्पन्न भई सञ्चालानमा आउने गरी काम भइरहेको उक्त आयोजनाका आयोजना प्रमुख गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी गराए। उनका अनुसार ठेकेदार कम्पनी आशिष समान्तार रेलिगेट कम्पनीले आगामी वर्षायामभित्रै सक्ने गरी काम गरिहरेको छ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ। गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्त कम्पनीलाई अन्तिम म्याद दिइएको थियो। अन्तिम म्यादसम्म पनि काम सम्पन्न नगरेपछि दैनिक जिरो दशमलव जिरो ५ प्रतिशतको दरले उक्त कम्पनीले हर्जना तिरिरहेको छ। त्यसले तिर्ने हर्जना दुई सय दिनसम्म हुनेछ। २ सय दिनभित्रै काम सम्पन्न गर्नैपर्छ। त्यसपछि पनि काम नभए सम्झौता रद्द गर्ने कानुनमा व्यवस्था छ। तर सम्झौता रद्द हुने अवस्था नआउने बाराहीले बताए। उनले भने, ‘अहिले गरिरहेको कामको दरले हेर्दा जेठ मसान्तभित्र शतप्रतिशत काम सकिन्छ। ठेक्का सम्झौता रद्द गर्नुपर्दैन।’

दुई सय दिनको अवधिमा ठेकेदार कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्नु पर्नेछ। दैनिक हर्जना तिर्न थालेपछि ठेकेदार कम्पनीले काम दु्रत दरगतिमा अघि बढाएको आयोजना कर्र्मचारीको बुझाइ छ।

ग्वार्को ओभर पास बनाउन २०७८ फागुन १२ गते ठेकेदार कम्पनीसँग ठेक्कासम्झौता गरिएको थियो। १७ करोड ६ लाख ८८ हजार रूपैयाँमा यसको ठेक्कासम्झौता गरिएको थियो। सुरुमा ठेक्कासम्झौता हुँदा २०८० साल फागुन ११ गतेभित्र काम सम्पन्न गर्ने गरी म्याद तोकिएको थियो। विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले समयमा काम गर्न सकेन। त्यसपछि यस आयोजनाको म्याद थप गरियो।

दोस्रो पटक म्याद थप गरी २०८१ पुस ८ गते काम सक्ने अन्तिम म्याद तोकियो। दोस्रो पटक पनि थप गरिएको म्यादमा पनि काम हुन सकेन। दोस्रो पटक थपिएको म्याद अन्तिम पटकका लागि थियो। त्यसैले दोस्रो पटक थपिएको म्यादभित्र पनि काम हुन नसकेपछि ठेकेदार कम्पनीले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ। आयोजना प्रमुख बाराहीका अनुसार अहिलेसम्म यस आयोजनाको काम ८२ प्रतिशत काम पुरा भएको छ भने पुलतर्फ ९८ प्रतिशत काम सकिएको छ।

काम भइरहेको बेला सातोदोबाटोतर्फ जगबाटै प्यानल वाल भत्काएर पुनः काम गर्नुपरेको थियो। करिब ४० मिटर जति ठाउँमा प्यानल वाल भत्काउनु परेको आयोजनाको भनाइ छ। आयोजनाका अनुसार प्यानल इन्टरलिंक हुँदा बिग्रिएको पर्खाल पूरै भत्काउनु परेको थियो। ठेकेदार कम्पनीले प्यानल वाल भत्काउँदा पहिले राखेको माटो हटाएर त्यस ठाउँमा पुन माटो भरेको थियो।

गुणस्तर केन्द्रका इन्जिनियरहरूले सातदोबाटोतर्फ प्यानल वालमा ग्याप देखेपछि ४० मिटर दुरीमा प्यानल वाल भत्काउन लगाएका थिए। ‘यो हाम्रा लागि नयाँ प्रयोग थियो। त्यसैले काम गर्दै जाँदा केही त्रुटि आउन सक्छ। हामीले त्रुटि पूरै सच्याइसकेका छौं,’ निर्देशक बाराहीले भने, ‘हामीले सुरुदेखि नै ग्वार्को ओभर पासको निरन्तर निगरानी र अनुगमन गरिरहेका छौं।’

ओभर पासको कोटेश्वरतर्फ ३२० मिटरमध्ये सबै दुरीमा प्यानल जडान भइसकेको छ। यसतर्फ काम शतप्रतिशत सम्पन्न भइसकेको छ। सातदोबाटोतर्फ भने १८० मिटरमध्ये १२० मिटर बाटोमा प्यानल जडान भइसकेको छ।

यो भनेको ६६ दशमलव ७ प्रतिशत प्रगति हो। यस ओभर पासमा ३५ मिटर लामो ४ लेनका पुल निर्माण भइसकेको छ। आयोजनाका अनुसार कालोपत्रको काम अझै सुरु भएको छैन। कालोपत्रको काम सकिनेबित्तिकै गाडी कुद्न सुरु गर्नेछन्। ट्राफिक लाइटको काम अझै भएको छैन। यसको डिजाइन स्वीकृति अझै नभएको आयोजनाले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८२ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App