सहरमा बस्ने यस्तो वर्ग छ, जो न समयमै ठुलो अस्पताल पुग्न सक्छ न मनग्गे खर्च गरेर उपचार गराउन सक्छ। यो वर्गको उपचारका लागि सहरी स्वास्थ्य प्रवर्धन केन्द्र सहज बनेको छ। २०७८ सालअघिसम्म सीमित सेवा प्रदान गर्दै आएका यस्ता केन्द्रहरूमा हिजोआज विस्तारित सेवा दिन थालिएको छ । त्यसकारण यस्ता केन्द्रमा सहरवासीको आकर्षण बढ्दै गएको काठमाडौं महानगर स्वास्थ्य सेवा विभाग प्रमुख दीपक केसीले बताए।
काठमाडौं महानगरले सामान्य सेवा दिँदै आएको सहरी क्लिनिकलाई तीन वर्षयता सेवासुविधा बढाउँदै लगेको छ। यस्ता केन्द्रमा एक जना एमबिबिएस चिकित्सक, निःशुल्क औषधि सेवा, प्रयोगशाला सेवा र निःशुल्क सेवा दिन थालिएको छ। त्यसकारण यस्ता केन्द्रहरू स्थानीय बिरामीका लागि पहिलो तहको उपचार गर्ने आधारभूत अस्पताल बनेका छन्।
स्वास्थ्य विभागका अनुसार फिजियोथेरापी, क्षयरोगको औषधि वितरण, परिवार नियोजन, भिडियो एक्सरे, एक्सरेलगायत सेवा स्वास्थ्य प्रवर्धन केन्द्रले प्रदान गर्दै आएका छन्। यस्ता सेवा लिएबापत शुल्क लाग्दैन नै, उपचारपछि चिकित्सकले सिफारिस गरेका औषधिसमेत निःशुल्क लिन सकिन्छ।
केन्द्रमा स्वास्थ्य बिमा सेवा दिने गरी आधारभूत अस्पतालको समेत काम थालिएपछि बिमाबाट उपचार गर्ने बिरामी आउन थालेको काठमाडौं महानगर जनस्वास्थ्य महाशाखाकी इन्चार्ज नली बज्राचार्यले बताइन्। उनका अनुसार स्वास्थ्य बिमाका बिरामीहरूले आधारभूत अस्पतालबाट रेफर भएको अवस्थामा ठुला अस्पतालबाट पनि सेवा लिन पाउँछन्।
हालसम्म महानगरले पाँच वटा वडामा प्रथम बिन्दु अस्पतालबाट स्वास्थ्य बिमा सेवा दिन थालेको छ। वडा नं. ८ को जयबागेश्वरी, १४ को कुलेश्वर स्वास्थ्य प्रवर्धन केन्द्र, १९ को कंकेश्वरी, २६ को लैनचौर र वडा नं. ३० को ज्ञानेश्वरमा रहेका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत स्वास्थ्य बिमा सेवा दिने गरिएको छ।
निःशुल्क र सहज सेवा हुने भएपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलजस्ता समस्याको नियमित परीक्षण गर्नुपर्ने बिरामी, सामान्य रोग लागेकाहरू, वृद्धवृद्धा, सुकुम्बासी तथा विपन्नका लागि यस्ता केन्द्र सहज बनेको महानगर स्वास्थ्य विभागका स्वास्थ्य बिमा कार्यक्रमका संयोजक प्रकाश परियारले बताए। सेवावृद्धिपछि सेवाग्राहीको संख्या पनि बढ्दै गएको जनस्वास्थ्य प्रमुख बज्राचार्यले बताइन्। ‘पहिला सहरी स्वास्थ्य क्लिनिकले दिने सेवाबारे सहरवासीलाई थाहा नै थिएन, केन्द्रमा डाक्टरले नै सेवा दिन थालेपछि आकर्षण बढेको छ,’ उनले भनिन्।
चालु आर्थिक वर्षमा मात्र यस्ता केन्द्रमा एक लाख १७ हजार जना बिरामीले सेवा लिएको स्वास्थ्य विभागको तथ्यांक छ।
सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले सेवा विस्तार गरे पनि बिरामी कम पुग्ने गरेको देखिएको ठुलो अस्पतालहरूको अनुभव छ। महानगरका अधिकांश स्थानीय उपचारका लागि वीर अस्पताल पुग्छन्। अहिले पनि सामान्य बिरामीको चाप उस्तै देखिएकाले प्रवर्धन केन्द्रको सेवाबारे सहरवासीलाई जानकारी नभएको हुन सक्ने राष्ट्रिय चिकित्सा प्रतिष्ठानका उपकुलपति तथा वीर अस्पतालका पूर्वनिर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन्। ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरू विस्तार भएअनुसार वीरमा बिरामीको चाप घटेको देखिँदैन,’ उनी भन्छन्।
उनका अनुसार यी केन्द्रबाट दिइने सेवा र सुविधाबारे जानकारी दिनुपर्ने आवश्यकता उनी औंल्याउँछन्।
प्रकाशित: १२ वैशाख २०८२ ०६:३२ शुक्रबार





