ज्यान मार्ने उद्योग ठहर भई जेलमा रहेका राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतमा दर्ता गरेको पुनरवलोकनको निवेदन बिहीबार फिर्ता लिएका छन्। उनले आफ्नो मुद्दामा भएको फैसला चित्त नबुझेकाले पुनः फैसलाका लागि गरिएको आग्रहको निवेदन फिर्ता लिएका हुन्।
न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मनाङेको ‘माग बमोजिम’ निवेदन फिर्ताका लागि आदेश गरेको हो। निवेदन फिर्तासँगै मनाङेले अदालतले तोकेको कैद कट्टा गर्नुपर्ने हुन्छ।
मनाङेले सर्वोच्चले निस्सा नदिने जस्तो भएकाले निवेदन फिर्ता लिएको हुनसक्ने सरकारी वकिलको आकलन छ। उनले आफ्नो असल चालचलन देखाएर माफी मिनाहा पनि हुनसक्ने गरी निवेदन फिर्ता लिएको अनुमान पनि गरिएको छ। त्यसैअनुरूप उनले त्यो सुविधाका लागि निवेदन फिर्ता लिएको हुनसक्ने बताए। कानुनअनुसार अदालतमा विचाराधीन मुद्दामा कैद कट्टा, माफी मिनाहा हुँदैन।
हाल कार्यान्वनमा ल्याइएको प्यारोलमा दुई तिहाइ सजाय भुक्तान गरेमा जेलबाट निस्कन पाउने व्यवस्था छ। ‘प्यारोल’ भनेको कुनै पनि सजाय पाएको व्यक्तिले दुई तिहाइ कैद भुक्तान गरेको छ भने छुट्न पाउने व्यवस्था हो। जस्तै: तीन वर्ष सजाय तोकिएको व्यक्तिले दुई वर्ष सजाय भुक्तान गरिसकेको छ र असल चालचलन देखाएमा ऊ छुट्न पाउँछ।
महान्यायाधिवक्ता रमेश बडालले प्यारोलमा छुट्नेहरू बढ्दै गएको बिहीबार अयोजित एक कार्यक्रममा बताए। उनले हालसम्म एक हजार ६ सयजनालाई प्यारोलमा छोडिएको बताए। यसरी छुटेकामध्ये २४ जनालाई कानुन उल्लंघन गरेकाले पुनः पक्राउ गरिएको उनले बताए।
महान्यायाधिवक्ताको अध्यक्षतामा संघीय प्रोवेसन तथा प्यारोल बोर्ड बनेको छ। गृहसचिव, प्रहरी महानिरीक्षकसहित ८ जनाको बोर्डले कानुनअनुसार प्रक्रिया पूरा गरेका कैदीबन्दीलाई प्यारोलमा छाड्ने निर्णय गर्ने व्यवस्था छ।
मनाङेलाई अदालतबाट पाँच वर्ष कैद सजाय ठहर भएको छ। उनी यसअघि ३२ महिना जेलमा बसिसकेका छन्। सर्वोच्चको फैसलापछि कात्तिकमा पक्राउ परेका उनी अहिले जेलमा छन्। असल चालचलन देखाए उनी प्यारोलमा छुट्न सक्छन्। नकारात्मक सूचीमा परेको मुद्दामा भने प्यारोलमा छुट्न मिल्ने व्यवस्था छैन। मनाङेले कैद कट्टा र प्यारोलमा छुट्न मिल्ने लाभका लागि सर्वोच्चबाट पुनरवलोकनको निवेदन फिर्ता लिएको हुनसक्ने अनुमान सरकारी वकिलले गरेका छन्।
सर्वोच्च अदालतले गत कात्तिक १० गते गण्डकी प्रदेशसभाका तत्कालीन सदस्य एवं पूर्वमन्त्री मनाङेविरुद्धको मुद्दामा ज्यान मार्ने उद्योग ठहर गरेको थियो। त्यसपछि उनी पक्राउ परेका थिए। करिब दुई दशक पुरानो घटनामा मनाङे जेल बसिरहेका छन्।
२०६१ साल वैशाख ३१ मा काठमाडौं महानगरपालिका महाराजगन्जस्थित एक रेष्टुरेन्टमा चक्रे मिलन र उनीबीच हानाहान भएको थियो। मनाङेमाथि चक्रेलाई धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाइदिएको आरोप लागेको थियो। त्यसपछि मनाङेविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी २०६१ साल चैत १८ मा उनलाई पक्राउ गरिएको थियो। मनाङेमाथि लागेको आरोप अदालतले पुष्टि गरिसकेको छ।
प्रहरी अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतको २०६२ साल वैशाख १३ को आदेशमा मनाङेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा राखिएको थियो। उनले बाँकी २८ महिना जेल बस्नुपर्ने गरी सर्वोच्चले फैसला गरेको थियो। ‘सर्वोच्च अदालतको फैसलामा चित्त बुझाइ भएकाले पुनरवलोकनका लागि दिएको निवेदन फिर्ता लिन पाउँ’ उनले पेस गरेको निवेदनमा लेखिएको थियो। उनले गत माघ ४ मा पुनरवलोकनको निवेदन दर्ता गरेका थिए। मनाङेले यही वैशाख ८ मा उक्त निवेदन फिर्ता लिन सर्वोच्चमा निवेदन दिएका थिए। मुलुकी फौजदारी कार्यविधि संहितामा निवेदन दर्ता र फिर्ता गर्न पाउने व्यवस्था छ।
प्रकाशित: १२ वैशाख २०८२ ०८:०९ शुक्रबार





