१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

हिरासतको तनावले थप जोखिम हुन सक्ने भन्दै ओलीलाई ‘आइसोलेसन क्याबिनमा’ मा राखियो

<br>

शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। पक्राउलगत्तै स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको उनलाई अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरिएको हो।

दुईपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई एनेक्स वान भवनको ५०१ नम्बर बेडमा आइसोलेसनमा राखिएको छ।

अस्पतालका अनुसार मुटुको धड्कनमा केही उतारचढाव देखिएपछि उनलाई कार्डियोलोजिस्टको प्रत्यक्ष निगरानीमा २४ घण्टा राखिने सम्भावना छ।

भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर हुँदै स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो।

नवनियुक्त गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ओलीसँगै पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरू दुवैलाई जेन-जी आन्दोलनका क्रममा हेलचेक्र्याइँ र लापरबाही गरी ज्यान मारेको अभियोगमा आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गर्ने प्रहरीको तयारी छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ज्यानसम्बन्धी कसुरमा प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि २५ दिनसम्म हिरासतमा राख्न सक्छ।

प्रहरीले मुलुकी अपराध संहिताको दफा १८१ (लापरबाहीपूर्ण काम) र दफा १८२ (हेलचेक्र्याइँ) अन्तर्गत उनीहरूमाथि अनुसन्धान अघि बढाएको छ।

कसुर प्रमाणित भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकको प्रत्यक्ष कमजोरी औंल्याउँदै फौजदारी कसुरमा अभियोजन गर्न सिफारिस गरेको थियो।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले शनिबार बिहान जरुरी पक्राउ पुर्जी थमाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रकाशित: १४ चैत्र २०८२ १४:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App