संसारभर सुत्ने अवधि घट्दै गइरहेको छ। वैज्ञानिकहरूले सन् १९६७ देखि २०२२ सम्मको लामो अवधिमा ५४ वटा सुताइ अध्ययनलाई आधार बनाई घट्दो सुताइ अवधिका बेफाइदामाथि अनुसन्धान गरेका हुन्। निद्रा अवधि घट्नुलाई केहीले निद कुपोषणको उपनाम दिइरहेका छन्।
२१ देशका पाँच हजारभन्दा बढी सर्वसाधारणको सुताइ शैली र अवधिलाई यस अध्ययनमा समावेश गरिएको हो। अध्ययनले देखाएअनुसार, पहिले सर्वसाधारणले कम्तीमा ७.१ घण्टा सुत्ने गर्थे। अहिले घटेर ६.४ घण्टामा सीमित हुन पुगेको छ। औद्योगिक क्रान्तिभन्दा अघि सर्वसाधारणको सुत्ने अवधि बढी थियो। अहिले कम्तीमा ४२ मिनेट कम सुतिरहेको देखिएको छ।
संसारमा औद्योगिक क्रान्ति हुनुअघि सर्वसाधारणले बढी सुत्ने अवसर पाउँथे। त्यो बेला शरीरले आफ्नो शारीरिक घडी (बडी क्लक) बनाएको थियो। अहिले त्यो शारीरिक घडीको अवस्था परिवर्तन भइसकेको छ।
पहिले कम्तीमा ९ घण्टा सुत्ने वातावरण थियो। (नेपालको हकमा भने फरक हुन सक्छ। औद्योगिक क्रान्ति अघि र पछि पनि खेती किसानी, खानेपानीको अभाव लगायतका कारण सुताइ अवधि कम गरेर भए पनि त्यसमा बढी समय दिनुपर्थ्याे।)
नेपाल जस्तो देशमा ‘निद कुपोषण’ गम्भीर विषय भई नसके पनि विकसित मुलुकहरूमा यो ठूलो समस्याका रूपमा उदाउन थालेको छ। मानिसहरू विद्युत र विद्युतीय सामग्रीहरूको अत्यधिक प्रयोग गर्न थालिरहेका छन्। यसले उनीहरूको निद्रा अवधि घटाइरहेको शोधले देखाएको छ।
जति ढिला सुतिन्छ, उति चाँडो उठ्नुपर्ने अवस्था विकसित मुलुकमा छ। त्यसैले उनीहरू निद्रा पूरा गर्न रेल तथा बसमा उँघिरहेका हुन्छन्। जताततै उँघिरहेका व्यक्तिहरू देख्दा सहजै उनीहरू निद कुपोषणका बिरामी हुन् भन्ने प्रस्टिन्छ।
निद कुपोषणको ठीक उल्टो ‘क्रोनोहाइजिन’ हो। निद पोषण अर्थात् पर्याप्त निद्राले शरीरलाई फाइदा दिन्छ। केही विज्ञहरू भने, निद कुपोषणको अवस्थाबाट उम्कन पाँच मिनेटको बिहानी यात्रा सबैभन्दा प्रभावकारी हुने बताइरहेका छन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: १२ वैशाख २०८२ ०८:३३ शुक्रबार





