‘ओई सुन न तेरो दिदी मर्दा कस्ती देखिएकि थिई ? सपना देखेको थिस?’ अबोध एक बालिकालेसँगै हिँडेकी आफ्नी साथीलाई सोधिन्। उत्तर ‘हेर्न दिएनन्। कता लगे था पाईन। निदै लाग्दैन कसरी देखम्ला सपना।’ यतिबेला बाल मनोविज्ञान अलि फरक भएको छ। आठबिसकोट नगरपालिका–९ का ३२ वर्षीय एक युवकले घर नजिकैको भेरी नदीमा हामफालेको र स्थानीयले बचाएका थिए। भूकम्पका कारण परिवारका सदस्य घाईते हुनु र घर ध्वस्त भएपछि उनले आत्महत्याको प्रयास गरेका हुन्। उनलाईलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ।
यतिबेला यहाँका धेरै स्थानियलाई मानसिक समस्याले पिरोल्न थालेको छ। डर लाग्ने, निद्रा नलाग्ने, बेचैनी र छटपटी मुख्य समस्या देखिएको छ भने आर्थिक अभावकाबीच नयाँ घर निर्माण अनि बालबालिकालाई चिसोमा कसरी बचाउने भन्ने मुख्य समस्या सुरु भएको छ। केहि गैर सरकारी संस्थाले केहि स्थानमा मनोविमर्शकर्ता राखेर सहयोगको अस्थायी प्रयास गरेको भए पनि सरकारी तवरबाट यसतर्फ ध्यान दिईएको छैन।
आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकाका तिन स्थानमा सामुहिक मनोविमर्श सेवा सञ्चालन गरेको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। उनले यहाँका स्थानियमा मानसिक समस्या बढ्न थालेको बताइन्।
‘भुकम्प पीडितमा तर्सिने, डराउने, टोलाउने, नबोल्ने, बोल्दा झर्किने, निद्रा नपर्ने, खाना खान मन नलाग्ने समस्या देखिन थालेका छन्।’ धिताले भनिन ‘हामिले रुकुमका तिन स्थानमा महिला मैत्री सुरक्षित स्थलका स्थापना गरेका छौ जहाँबाट उपचार संगै मनोबिमर्श सेवा पनि उपलब्ध छ।’
राहतका नाममा पाएको पातलो त्रिपालले उनीहरुलाई आँखाले देखिने ओत मात्र भएको छ। पानी नपर्दै बढेको चिसोलाई पानी परेपछि त्रिपालल थेग्ने कुरै भएन। सुत्केरी, गर्भवतीसँगै बालबालिका तथा ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको स्थानिय स्वास्थ्यकर्मीले बताए। त्रिपालमुनिको बास, दिन प्रतिदिन बढिरहेको चिसो र खानपान नमिल्दा दैनिकी कष्टकर बन्न थालेको हो।
त्रिपालसमेत सबैको दैलोमा नपुगेको यहाँ सुरक्षित बासस्थानको प्रक्रिया सुरु हुनेमै अन्यौल छ। यतिबेला जाजरकोट र रुकुमका केहि बस्ती अकल्पनीय पीडामा छन्। दुईचार दिन सबैको आखा परेको यहाँ बस्तीका बारेमा विस्तारै सबैको चिन्ता घट्दो छ भने पीडितका पीडा बढ्दो छ। दैनिक त्यहाँ राहतका नाममा पुग्ने सयौं सवारी साधनले के के ल्याए र कहाँ गयो होला भन्नेमा स्थानिय अचम्ममा परेका छन्।
प्रकाशित: २७ कार्तिक २०८० ०८:१५ सोमबार