११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

यूथ सेलिब्रेसनमा ओली र पोखरेल बाहेक अन्य वक्ता युवा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसको अवसरमा आज (बिहीबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘युवा उत्सव’ मा अधिकांश वक्ता ४० वर्षमुनिका युवा रहने भएका छन्।

स्वदेशमा रोजगारी र समृद्धिका अवसरहरू युवालाई प्रदान गर्ने सन्देशसहित आयोजित यो कार्यक्रममा देशभरबाट करिब एक लाख युवा सहभागी हुने बताइएको छ।

कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्नेछन्। उनीहरूबाहेकका सबै वक्ता युवा रहने राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ।

वक्ताहरूमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बाग्लुङ क्याम्पसका स्ववियू सभापति अश्विनी शेख, पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति विष्णु पोखरेल, डा. आनन्द सिंह, ल क्याम्पसका विद्यार्थी प्रकाश सुनार, कोटेश्वर क्याम्पसकी स्ववियू सभापति शर्मिला भण्डारी र अनेरास्ववियुका अध्यक्ष समिक बडाल रहेका छन्। राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा आयोजित यो उत्सवमा कन्सर्ट, सांस्कृतिक झाँकी, नाचगान र युवाले उत्पादन गरेका सामग्रीका स्टलहरू रहनेछन्। कार्यक्रमस्थलमा कफी सप, फुड स्टललगायतका व्यवस्था पनि गरिएको छ।

राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष थेबेका अनुसार यो कार्यक्रमले युवालाई प्रोत्साहन गर्दै उनीहरूको नेतृत्व र सहभागितालाई प्राथमिकता दिएको छ। देशभरबाट ४० वर्षमुनिका युवाहरू काठमाडौंमा भेला भएर लोकतन्त्रको उत्सव मनाउने तयारीमा छन्।

प्रकाशित: ११ वैशाख २०८२ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App