तेह्रथुमको आठराईमा सम्पन्न मदन मेमोरियल खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङस्थित सोधुङ सेन्दाङ समाजले हात पारेको छ ।
महिलातर्फको उपाधि म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमले सुरक्षित गरेको छ । पुरुषतर्फको फाइनल खेलमा आठराई गाउँपालिका तेह्रथुमलाई १–० गोलले पराजित गर्दै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकास्थित सोधुङ सेन्दाङ समाजले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा कप्तान अनुप सेन्दाङले गरेको गोल नै निर्णायक गोल बन्दा सोधुङ सेन्दाङले तेह्रथुमबाट उपाधि ताप्लेजुङ भित्र्याएको छ ।
उपाधि सँगै सोधुङ सेन्दाङले २ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आठराई गाउँपालिकाले १ लाख ३० हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा प्राप्त गरेको छ । महिलातर्फको फाइनल खेलमा ताप्लेजुङको दोखु युवा क्लबलाई १–० गोलले पराजित गर्दै तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले उपाधि जितेको छ ।
म्याङलुङका लागि केरेन लिम्बूले एक मात्र निर्णायक गोल गरिन् । उपाधि सँगै म्याङलुङले ८० हजार ५ सय ५५ रुपैयाँ र उपविजेता दोखुले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् आठराई गाउँपालिका र मदन धारा समितिको आर्थिकमा यसबर्षको मदन भेला भएको थियो ।
प्रकाशित: ११ वैशाख २०८२ १३:११ बिहीबार





