१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘रोपाइँ गर्न ढिलाइ भइसक्यो, खेतमा पर्याप्त पानी छैन’

कमला नदीमा पानीको सतह कम हुँदा सिरहा र धनुषाका किसानलाई सिंचाइ गर्न समस्या भएको छ। कमला नदीमा पानीको सतह घट्दा कमला सिंचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको कमला सिंचाइ नहर प्रणालीमा पर्याप्त पानी पुग्न सकेको छैन।

‘धान रोप्न ढिलाइ भइसक्यो तर खेतमा पर्याप्त पानी पुग्न सकेको छैन’, धनुषाका किसान अमोद यादव भन्छन्, ‘वर्षा कम भए पनि अघिल्लो वर्ष हामीले कमला नदी प्रणालीबाटै सिंचाइ गरेर धान रोपाइँ गर्‍यौं।’ तर अहिले कमला नदीमा पानीको सतह घटेर खेतसम्म पानी पर्याप्त पुग्नै सकेको छैन, यसका कारण खेती गर्न ठूलो समस्या भएको उनको भनाइ छ।

‘पहिलापहिला असार, साउन र भदौमा कमला नदीमा ठूलो बाढी नै आउँथ्यो’, सिरहाको औरहीका किसान राघव साह भन्छन्, ‘हामी कमला सिंचाइको नहरबाटै सिंचाइ गरेर धान रोपाइँ गर्थ्याैं तर पछिल्लो केही वर्षदेखि कमला नदीमा पानीको बहाव घट्दै गएको छ, नहरमा पनि चाहिएको जति पानी आउँदैन।’

पानीकै अभावमा अघिल्लो वर्ष पनि हामीले खडेरीको मार खेप्यौं, यसपालि त झन् ठूलो समस्या खेप्नुपर्ने देखिन्छ’, उनको दुःखेसो थियो।

धान खेतीका बेला पानीको अत्यधिक माग भए पनि कमला नदीमा पानीको बहाव घटेर नहरमा पानी कम आउन थालेपछि किसान चिन्तामा डुबेका छन्।‘एकातिर लामो समयदेखि वर्षा भएको छैन, अर्कातिर नहरमा चाहे जति पानी आएको छैन’, राष्ट्रिय सिंचाइ जलउपभोक्ता महासंघका अध्यक्ष समेत रहेका धनुषाका किसान गजाधर यादव भन्छन्, ‘यस्तो अवस्थामा किसानले कसरी सिंचाइ गर्छ र धान रोपाइँ गर्छ? यो ठूलो चिन्ताको विषय बनेको छ।’ विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तनको प्रभावका कारण इतिहासमै पहिलो पटक यस वर्ष कम वर्षा भएर नदीमा पानीको बहाव कम हुँदै गएको उनको भनाइ छ।

‘कमला नदीमा पानीको बहाव कम हुनु किसानका लागि असाध्य चिन्ताको कुरा हो’, उनी भन्छन्,‘सिंचाइका लागि कमला नदीमा पर्याप्त पानी आवश्यक छ, वर्षैभरि कमला नदीमा पानी ल्याउन तत्काल सुनकोशी–कमला डाइभर्सनको काम तत्काल अघि बढाउनुबाहेकको विकल्प छैन।’

सुनकोशीबाट कमला नदीमा पानी झार्न सकिए वर्षभरि कमला नदीमा पानी आउँछ, यसबाट सिरहा, धनुषा र सप्तरीमा सिंचाइ सुविधा पुग्ने उनको दाबी छ।

अहिले कमला नदीमा पानीको सतह कम भएर सिंचाइ नहरमा पानी पर्याप्त नआउँदा कतिपय ठाउँमा किसानबीच कुटाकुटसमेत हुने गरेको छ। कमला सिंचाइ नहर प्रणालीमा कम पानी आउँदा किसानबीच पहिला म खेतमा पानी हाल्छु भन्दै झडप र कुटपिट समेत हुन थालेपछि कमला सिंचाइ व्यवस्थापन कार्यालय धनुषाले आलोपालो विधिबाट किसानको खेतमा पानी पठाउन थालेको छ।

‘पानीका विषयमा कतिपय ठाउँमा किसानबीच विवाद हुने र कुटपिट समेत हुने गरेको पाइएकाले अहिले आलोपालो गरेर पानी पठाउन थालेका छौं’, कमला सिंचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले भने,‘अहिले पानीको माग धेरै छ तर नहरमा कम पानी आइरहेको छ, यस्तो अवस्थामा आलोपालोबाट पानी नपठाउनेबाहेक हामीसँग कुनै विकल्प छैन, अहिले आलोपालो गर्दा पुछारका किसानले पनि पानी पाइरहेका छन्, नत्र पहिला मुहानका किसानले मात्र पानी पाउने र पुछारका किसानले पानी नै नपाउने अवस्था थियो’, उनले भने।

‘साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिंचाइ गर्न सहज हुन्छ तर अहिले नदीमा पानी नै छैन’, प्रमुख यादव भन्छन्,‘पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिंचाइको पहुँच पुगेको त छ तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिंचाइ गर्न समस्या भएको हो।’

नहरमा पानी कम आउँदा पनि अचेल रातदिन खटेर किसानको खेतमा पानी पुर्‍याइरहेको प्रमुख यादव बताउँछन्। निर्माण गरिएको कमला सिंचाइ पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा सिंचाइ हुँदै आएको छ। विगतमा वर्षा नहुँदा धनुषा, सिरहा, महोत्तरी र सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्या दृष्टिगत गरी कमला नदीबाट सिंचाइ गर्न विभिन्न पूर्वाधार निर्माण गरिएको प्रमुख यादवको भनाइ छ।  

प्रकाशित: ७ श्रावण २०८० ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App