८ वैशाख २०८१ शनिबार
राजनीति

एसपिपिमा दाहाल नै दोषी: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफूले रोकेको भनेर एकजना नेताले सबैलाई ढाँटिरहेको बताएका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सो कुरा बताएका हुन्।

मदन भण्डारीको ७१औं जन्मजयन्ती अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले दाहालको नामै नलिई उनले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ढाँटेको बताएका हुन्। उनले एसपिपी मात्र नभएर एमसिसीमा पनि माओवादी अध्यक्ष र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको हात रहेको तर जोगिन दाहालले झुटो प्रचार गरेको आरोप लगाए।

‘राष्ट्रियताको सवाललाई मानिसले यस्तो सस्तो बनाएका छन्, एकजना नेताले पटकपटक भनिरहेका छन् कि केपी ओलीको समयमा एसपिपी आएको तर आफूले रोकेको भनेर (दाहालले) राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ढाँटिरहेका छन्,’ ओलीले भने, ‘योभन्दा ढाँट कुरो, फट्याइँ कुरो के हुन्छ? राष्ट्रियता भन्ने चिज तमासा, हाउभाउ, नखरा, झुक्याउने, अभियान गर्ने चिज होइन।’

आफ्नो देश, भूगोल, जनता, सभ्यता, समाज, राष्ट्र महत्त्वपूर्ण हुने उनको भनाइ थियो। ‘भूगोलदेखि समाजसम्मका सम्पूर्ण पक्षको हितमा तलमाथि पर्न नपाओस्, अस्तित्व रक्षासम्मको कुरा हो,’ ओलीले भने। उनले एसपिपिबारे सेनाले लेखेको पत्रबारे आफूलाई जानकारी नभएको बताए।

प्रकाशित: १५ असार २०७९ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App