१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)ले आज विभिन्न कार्यक्रमको आयोजना गरी २७औँ ‘जनयुद्ध दिवस’ मनाएको छ। मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ।

माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औँ जनयुद्ध दिवस मनाएको हो। सो दिनको स्मरणका आज माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गर्‍यो।

कार्यक्रमलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए।

उनले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गरे। उनले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गरे।

माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उनको भनाइ छ। जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रह गरे। जनताको सचेत पहलका साथ गतवर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उनले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गरे।

अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले पाँच दलीय गठबन्धन कुनै परियोजना वा त्यससँग भएको सहमतिका आधारमा नबनाएको उल्लेख गर्दै राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध हुनु नै देश र जनताको हितमा हुने स्पष्ट पारे।

खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धनको भाग्य र भविष्यका बारेमा कोही कसैले सोच्छ भने त्यो देश र जनताका लागि समेत राम्रो नहुने उनको भनाइ छ। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आफूले सार्न लगाएको भनेर गलत प्रचार भएको उनको भनाइ थियो।

उनले गलत मनसायका साथ गलत प्रचार हुने गरेको प्रति अध्यक्ष दाहालले दुःख व्यक्त गरे। फरक एक प्रसङ्गमा उनले सबै क्रान्तिकारी बामपन्थी शक्ति, माओवादी घटक तथा देशभक्त सबैलाई एकता, सहकार्यको मार्गमा अगाडि बढ्न आह्वान गरे। रासस

प्रकाशित: १ फाल्गुन २०७८ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App