coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

पार्टीको १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित देउवाले शनिबार विधानको धारा २१ को उपधारा १० अनुसार नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। देउवाले पुस १० गते दोस्रो कार्यकालका लागि सभापतिको जिम्मेवारी सम्हालेका थिए।

पौडेल पार्टीको १४औं महाधिवेशनमा निर्वाचन प्रक्रियाबाट अलग भएका थिए। देउवा इतर समूहबाट साझा उम्मेदवार बन्ने प्रयास गरेका पौडेल त्यसमा असफल भएपछि नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियामा सामेल नभएका हुन्। सिंह र निधि देउवासँग प्रतिस्पर्धामा थिए।

पार्टी विधानको व्यवस्थाअनुसार सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि धेरै भोट पाउने दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा सिंह र निधि दुवैले देउवालाई समर्थन गरेका थिए। दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा सिटौलाले देउवालाई नै समर्थन गरेका थिए। तर, उनले महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा गरेका थिएनन्।

गच्छदार देउवा समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए। उनी धनराज गुरुङसँग दुई भोटले पराजित भएका थिए। त्यस्तै, कोइराला सिंहको समूहबाट उपसभापतिको उम्मेदवार थिइन्। सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा उनी दाजुसमेत रहेका शेखरलाई छाडेर देउवाको पक्षमा खुलेकी थिइन्। महत पनि देउवा समूहबाटै महामन्त्रीको प्रत्यासी थिए। आफ्नै समूहको भोट नपाउँदा पराजित भएका उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। तर, देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका प्रदीप पौडेललाई भने केन्द्रीय सदस्यमा मनोनीत गरिएको छैन।

खड्का परराष्ट्रमन्त्री र रेग्मी महिला बालबालिकामन्त्री हुन्। उनीहरूले महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा गरेका थिएनन्। केन्द्रीय सदस्यमा मनोनीत विश्वकर्माले दलिततर्फ सहमहामन्त्रीका लागि उम्मेदवारी दिए पनि अन्तिममा फिर्ता लिएका थिए।

केन्द्रीय सदस्यमा मनोनीत धेरैजसो देउवानिकट हुन्। कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय सदस्यमा ३३ जनालाई मनोनीत गर्ने अधिकार सभापतिमा छ। अब केन्द्रीय सदस्यमा मनोनीत कोटाअन्तर्गत २३ सिट खाली छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एकलाई कोषाध्यक्षमा मनोनीत गर्न केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने अधिकार पनि विधानले सभापतिलाई दिएको छ।

गत मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा भएको १४औं महाधिवेशनले नयाँ कार्य समितिका लागि १३ पदाधिकारीसहित १ सय ३४ जनालाई निर्वाचत गरेको थियो। मतगणना १० दिनमा सकिएको थियो। नयाँ कार्य समितिका लागि देउवा समूहबाट उम्मेदवार बनेका दुई तिहाइजति विजयी भएका छन्।

प्रकाशित: १८ पुस २०७८ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App