१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन्। तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार बनेका छन्।

देउवा समूहबाट प्रदीप, शेखरबाट गगन र सिंहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन्। उनीहरूसँगै अघिल्ला पुस्ताका तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीकै प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धामा रहेका ६ उम्मेदवार मध्य गगन र विश्व महाधिवेशन प्रतिनिधिमाझ लोकप्रिय देखिएका छन्। उनीहरूको तुलनामा प्रदीप केही कमजोर देखिएका छन्। तर, सिटौला हुँदै देउवा समूहमा जोडिएका प्रदीप गुटगत समीकरणका दृष्टिले भने सबैभन्दा बलिया देखिन्छन्।

प्रदीपसँगै देउवा समूहबाट महत पनि महामन्त्रीको उम्मेदवार बनेका छन्। देउवा समूहभित्र महामन्त्रीको उम्मेदवारका आकांक्षीको असन्तुष्टि मतमा प्रकट भएन भने गगन र विश्वको अवस्था मजबुत रहेको निकटहरूको बुझाइ छ।

सडकदेखि संसद्सम्म पार्टीदेखि सरकारसम्म आफ्नो भूमिका देखाइसकेका गगनलाई पार्टीको महामन्त्रीमा ल्याउनैपर्ने मत सबैखाले महाधिवेशन प्रतिनिधिमा देखिएको छ। तर,गगनसँग पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रुष्ट छन्।

१३औं महाधिवेशनमा सिटौलासँग जोडिएर थापा महामन्त्रीको प्रत्यासी बनेका थिए। स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आफ्नो कोटाबाट पुगेका गगनले आफूलाई बीचमै छाडेर संस्थापन इतर पक्षमा लागेको भन्दै सिटौलाले चित्त दुखाएका छन्।

महाधिवेशनको उद्घाटन सत्रमै सिटौलाले लाक्षणिक रूपमा त्यो धारणा व्यक्त गरेका थिए। त्यसो हुँदा सिटौलाले प्रदीपलाई जिताउन मात्र भूमिका निर्वाह गरेका छन् कि गगनलाई रोक्न पनि भन्ने विषयले परिणाममा फरक पार्नेछ।

त्यस्तै नेता प्रकाशमान सिंहले पनि गगनसँग चित्त दुखाएका छन्। वडादेखि प्रदेशसम्मको निर्वाचनमासँगै उभिएका गगनले महाधिवेशनमा भने सिंहलाई सभापति मानेनन् र शेखरको समूहमा उभिन पुगे।

त्यसको प्रभाव मतदानमा पनि पर्न सक्ने आकलन गरिएको छ। महामन्त्रीमा गगन जित्दा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने भन्दै उनका समकक्षी र सिनियरहरू पनि उनीप्रति केही सशंकित देखिएका छन्। कतिपय महाधिवेशन प्रतिनिधि मतमा पनि त्यो कुरा प्रकट भएको बताउँछन्।

हल्लाखल्ला कम गर्ने र शालीन मात्र होइन,प्रदीपबाट धेरैले आफूलाई असुरक्षित नठानेको बताउँदै दाङका एक महाधिवेशन प्रतिनिधि अघिल्लो पुस्ताको मत मीनेन्द्र रिजाल र प्रकाशशरण महतको पक्षमा गएको दाबी गर्छन्।

युवायुवा भनेर पार्टीका नाममा केही थाहा नभएकाको बोलवाला गाउँदेखि केन्द्रसम्म चल्नु पनि ठिक नहुने बताउँदै ती प्रतिनिधिले थपे, ‘संगठनको मर्म र भावना,नीति र सिद्धान्त पनि थाहा हुनुपर्छ।’

सिटौला समूह देउवासँग जोडिएपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका विश्वप्रकाश शर्मा प्रकाशमानसँग गाँसिए। गणेशमान पुत्र सिंह र गिरिजाप्रसाद पुत्री सुजातासँग उभिएर शर्मा महामन्त्रीको प्रतिस्पर्धामा छन्।

गुटगत मतका हिसाबले सिंहसँग देउवा र शेखरसँग भन्दा कम छ। उनको लोकप्रियता र पार्टीको प्रवक्ताका रूपमा निर्वाह गरेको भूमिकाले उनलाई जित निकाल्न मद्दत पुग्ने निकटहरूको भनाइ छ।

नेविसंघको अध्यक्ष हुँदै पार्टीको विभिन्न पदमा रहेर काम गरेका ज्ञानेन्द्रबहादुर कार्की,बालकृष्ण खाँण, एनपी साउद मात्र होइन, बलबहादुर केसी, रामशरण महतसहितका नेताले समूहका लागि त्याग गरेको तर शर्माले भने महामन्त्री नपाउनेबित्तिकै गुट फेरेको भन्दै आलोचना पनिहुने गरेको छ। तर, ‘गगन र विश्व’ भन्ने नारा भृकुटीमण्डपमा नलागेको भने होइन। त्यसबाट एकअर्कालाई जित्न सहयोग पुग्यो कि आफ्नै समूहको भोट काटियो भन्नेचाहिँ परिणामले नै देखाउनेछ।

महामन्त्रीका तीन डाक्टर उम्मेदवारमध्ये सबैभन्दा कमजोर कार्की हुन्। उनको मत कति आउँछ यसै भन्न सकिँदैन। तर, विगतदेखिकै प्रतिस्पर्धी महत र रिजालमध्ये गुटका आधारमा महत बलिया देखिन्छन्।

संसद्मा पछिल्लो दिनमा निर्वाह गरेको भूमिकाले रिजाल पार्टीका नेता तथा कार्यकर्तामाझ लोकप्रिय छन्। तर, त्यो महाधिवेशन प्रतिनिधिले मतमा प्रकट गरे कि गरेनन्,आकलन गर्न कठिन छ। १३ पदाधिकारीका लागि भएको निर्वाचनमा सबैभन्दा प्रतिस्पर्धा महामन्त्री पदमै हुने देखिन्छ।

दुई उपसभापतिमा पूर्णबहादुर खड्काको स्थान सुरक्षित रहेको महाधिवेशन प्रतिनिधिहरूको आकलन छ। बाँकी एकमा पनि गच्छदार नै अघि हुन सक्ने आकलन गरिएको छ। यद्यपि,गच्छदारसँगै सुजाता,महेश आचार्य,चन्द्र भण्डारी, धनराज गुरुङबीच दोस्रो हुने प्रतिस्पर्धा हुनेछ।

साढे ४ सयबाट १ सय ३२ जनालाई मतदान गर्नुपर्ने हुँदा अधिकांश मतदाताले पदाधिकारीसहित केही केन्द्रीय सदस्यबाहेक अधिकांशले गुटगत सूचीकै आधारमा मतदान गरेको अनुमान गरिएको छ।

प्रकाशित: २८ मंसिर २०७८ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App