coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

प्रधानमन्त्री केपी ओलीको सचिवालयमा कार्यरत प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालयका अन्य सदस्य र सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेता होम आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अफिसियल फोटोग्राफर र निवासमा कपाल काट्ने नाईलाईसमेत संक्रमण देखिएपछि सबैलाई परीक्षण गर्दा प्रमुख राजनीतिक सल्लाहकारसहित सुरक्षाकर्मीलाई संक्रमण देखिएको हो।

अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सावधानी अपनाइएको छ। साथै अत्यावश्यकबाहेक उनका सबै भेटघाट बन्द गराइएको छ। आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ। ‘प्रधानमन्त्री ओलीले भेट्नै परेकाले उच्च सतर्कताका साथ भेटघाट भएको र दुई अध्यक्षको भेट पनि दूरी कायम गरेर भएको हो,’ स्रोतले भन्यो।

प्रधानमन्त्रीनिवासमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि स्थागित गरिएको छ। दुई अध्यक्षबीच भेटघाट हुँदा कोरोना संक्रमण नियन्त्रण र त्यसको उपायबारे छलफल भएको साथै अन्य सरकारी नियुक्तिबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अत्यावश्यकबाहेक सबै भेटघाटलाई बन्द गरिएको छ। अहिले तत्कालै सचिवालय बैठक वा अन्य बैठकको सम्भावना पनि नरहेको बालुवाटार स्रोतले जानकारी दियो। महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी बुटवलमै हुनुपर्छ भन्ने अडान राखेकाले दुई अध्यक्षबीच सो विषयमा छलफल भएको बताइएको छ। ‘प्रदेश ५ को राजधानी दाङमा तोकिएपछि महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँग असहमति प्रकट गर्नुभएको थियो। आजको भेटमा उहाँहरूबीच यो विषयमा पनि छलफल भएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो। प्रदेश ५ को राजधानी विवादलाई लिएर अहिले बुटवलमा आन्दोलन चलिरहेको छ। प्रदेश राजधानी विषयमा विवाद उत्पन्न भएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल शनिबार काठमाडौं आएर महासचिव पौडेलसँग भेटघाट गरेर आइतबार नै फर्केका छन्।

आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ।

सचिवालयका अन्य नेता पनि होम आइसोलेसनमै छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेर अन्य नेतासँग टेलिफोन सम्पर्क मात्र गरिरहेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पनि घरबाट बाहिर भेटघाटमा निस्केका छैनन्। वामदेव गौतम घरमै रहेका छन् भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ आइतबार केही बेर ललितपुरबाट काठमाडौंसम्म आए पनि उनी नेतासँगको भेटघाटमा सरिक भएनन्। र महासचिव विष्णु पौडेल पनि घरबाटै सम्पर्कमा रहेका छन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल भने सरकारी काममै रहेका छन्। कोरोना संक्रमणको कारणले नेताले उच्च सतर्कता अपनाउन थालेका छन्। उनीहरू आवश्यक पर्दा मात्रै घरबाट बाहिर निस्कने नत्र घरमै बसिरहेका छन्। सचिवालयका सदस्यलाई पनि घरबाटै काम गर्न र भेटघाटको कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएका छन्। नेताबीच भेटघाट अवरुद्ध भएपछि सचिवालय बैठक र पार्टीका अन्य गतिविधिसमेत ठप्प छन्। त्यति मात्र होइन, यसअघि नेकपाको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउन दुई अध्यक्षलाई १० दिनको समय दिएको भए पनि अहिलेसम्म त्यो जिम्मेवारी पूरा हुन सकेको छैन। गत असोज ६ गते बसेको नेकपा सचिवालयको बैठकले १० दिनभित्र पार्टी एकताको थाती रहेका काम टुंग्याउने गरी प्रतिवेदन प्रस्तुत गर्न दुई अध्यक्षलाई जिम्मा दिएको थियो। तर सचिवालयले दिएको समयसीमा असोज १६ गते समाप्त भए पनि अध्यक्षले अहिलेसम्म कुनै पनि प्रस्ताव तयार गरेका छैनन्। ‘पार्टी एकताको बाँकी कामको विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको थियो तर प्रस्ताव तयार पार्ने विषयमा अर्को भेटमा कुराकानी हुने बुझिएको छ,’ स्रोतले भन्यो।

प्रकाशित: १९ आश्विन २०७७ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App