मकवानपुरको मनहरी गाउँपालिका–५ बसन्तपुरस्थित राप्ती खोलाको किनारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शनिबार दिउँसो करिब ३:४० बजे डिल्लीपुरस्थित आफन्तको घरबाट दरदरा फर्कने क्रममा एकै परिवारका सदस्यहरू चट्याङको चपेटामा परेका हुन्।
चट्याङ लागेर दरदरा निवासी २८ वर्षीय अबिरल थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनामा मृतकका ५६ वर्षीय पिता सिंहबहादुर थिङ र १० वर्षीय सौगात गोले घाइते भएका छन्।
प्रहरीका अनुसार सिंहबहादुरको अवस्था मध्यम छ भने सौगातको अवस्था सामान्य रहेको छ। प्रहरी टोली घटनास्थलमा पुग्नुअघि नै स्थानीयले घाइतेहरूलाई उपचारका लागि चितवन पठाएका थिए।
हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ चैत्र २०८१ १६:४४ आइतबार