१३ वैशाख २०८२ शनिबार
image/svg+xml २२:४४ अपराह्न
राजनीति

खानेपानीमन्त्रीको मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित

खानेपानी मन्त्री प्रदीप यादवको नेतृत्वमा रहेको टोलीले आज (आइतबार) मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेको छ। पछिल्लो समय कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने गुनासो बढेपछि मन्त्रालयले आकस्मिक निरीक्षण गरेको हो।

मन्त्री यादव, सचिव ईन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी लगायतको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूको अनुगमन गरेका हुन्।

सहसचिव पुरीका अनुसार, खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी उपस्थित भेटिए पनि मेलम्ची खानेपानी विकास समितिमा भने १६ जना कर्मचारी गैरहाजिर रहेको पाइएको छ।

उनले भने, ‘‘मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्चीमा १६ जना अनुपस्थित थिए।’’

अनुगमनपछि मन्त्रालयले मेलम्चीमा कर्मचारीको नियमित उपस्थिति सुनिश्चित गर्नका लागि केही निर्देशनहरू दिएको छ।

जसअनुसार अबदेखि कार्यालयमा विद्युतीय हाजिर प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ। साथै, कार्यालय समयमै बाहिरी काममा जानुपर्ने अवस्था आएमा त्यसको विवरण ‘लकबुक’ मा राख्नुपर्ने व्यवस्था गरिनेछ।

मन्त्री यादवले अनुगमनका क्रममा उपस्थित कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै काम गर्दा देखिने समस्याबारे पनि जानकारी लिएका थिए। उनले कर्मचारीको कार्यशैली सुधार गर्न र सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक कदम चालिने संकेत समेत दिए।

प्रकाशित: ३१ चैत्र २०८१ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App