नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका कारण शिक्षा ऐन जारी हुन नसकेको बताएका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै दाहालले माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न शिक्षकहरूलाई अपिल गरेका थिए। यसैको जवाफ महासचिव पोखरलले सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले दाहाललाई कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्दछ थाहा नहुने कुरा हुन्छ भन्दै माओवादी केन्द्रकै कारण शिक्षा ऐन जारी हुन नसकेको टिप्पणी गरेका हुन्।
दाहाल प्रधानमन्त्री भएको समयमा सम्झौता गरेअनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत नगरेकाले अहिले शिक्षकले आन्दोलन गर्नुपरेको पोखरेलले बताएका छन्।
‘पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दि जारी गर्नु भएछ। कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्दछ भन्ने कुरा पटक पटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई थाह नहुने कुरै भएन। के सडकबाट विधि र प्रक्रियाबिनै कानुन निर्माण गर्न सम्भव छ र? ’ उनले भने, ‘विगतमा शिक्षकसँग संझौता गरेर त्यसको कार्यान्वयनमा उदासिनता देखाउने प्रचण्डजीको नेतृत्वको सरकार नै थियो। उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १८०० भन्दा बढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन।’
सत्ता पक्षले हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरे पनि माओवादीले सहयोग नगरेको उनले प्रष्ट पारे। ‘संविधान कार्यान्वयसंग सम्बन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै यति बेला संयन्त्र गठन गरेर काम थालेको अवस्था छ। सत्ता पक्षले संयन्त्र बनाएर छोटो प्रक्रिया अवलम्बन गरेरै हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेको थियो। उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै रहदैनथ्यो,’ पोखरेलले भनेका छन्।
उनले माओवादी नेतृत्वको कारणले समेत संसदीय समितिले उपसमिति गठन गर्न तीन महिनाभन्दा बढी समय लागेको जानकारी गराए। ‘उपसमिति गठन भएर छलफलसमेत सुरु नभएको अवस्थामा विधेयक पास गर्ने बाटो प्रचण्डजी देखेको भए प्रस्ताव राख्नु उचित हुन्थ्यो,’ उनले भने, ‘हिउँदे अधिवेशन अन्त्य भएको र विधेयक विचाराधीन रहेको अवस्थामा शिक्षक नेताहरूले माग गरे झैँ अध्यादेश जारी गर्न मिल्ने अवस्था देखिँदैन। प्रमुख दलहरूको सहयोग रहने हो भने बजेट अधिवेशन अगावै सहमति जुटाएर बजेट अधिवेशनको सुरुमै कानुन जारी गर्न सकिन्छ। त्यसका लागि सत्तापक्ष तयारै देखिन्छ।’
उनले दाहालले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भन्नुको अन्तर्य के होला? भन्दै शंका व्यक्त गरेका छन्। उनले भने, 'यस्तो अवस्था रहदारहदै प्रचण्डजीले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला? कतै हलो अड्काएर गोरु चुट्ने त होइन?
नेपाल शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक अघि नबढाएको र पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै बुधबारबाट शिक्षकहरूले आन्दोलन थालेका हुन्।
प्रकाशित: २५ चैत्र २०८१ ०७:३५ सोमबार