प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन्।
थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शखर सम्मेलनमा सहभागी भई शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँगको भेट निकै फलदायी भएको र त्यसबाट आफू खुसी रहेको प्रतिक्रिया दिए।
‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहाले आपसमा संवाद गरिहाल्ने र टुंग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौं,’ सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँ (मोदीजी) को कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु।’
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिँदै भने, ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए।’
ओलीले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने तर भारतबाट उच्चस्तरको सहभागिता हुने जानकारी दिए। ‘मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ।’
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रूपमा ग्रहण गरी सम्बोधन गर्ने बताए। उनले भने, ‘सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूको कुरा पनि सुन्छ।’
शिक्षकले राखेका मागका सम्बन्धमा के कति गर्न सकिन्छ, के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुंगिने विश्वास उनले व्यक्त गरे। ‘धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नुपरेको छ र ?’ ओलीले भने, ‘शिक्षकको समस्या टुंगिन्छ।’
सरकारले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए।
यसैगरी प्रधानमन्त्री ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यको ढोका खुलेको बताए। भ्रमणका क्रममा नेपाली र थाइल्यान्डका व्यासायिक समुदायबिचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी भएको उनले बताएका हुन्। उनले भ्रमण सफल भएको पनि बताए।
- रासस
प्रकाशित: २४ चैत्र २०८१ ०७:०० आइतबार