११ वैशाख २०८२ बिहीबार
image/svg+xml १०:२८ पूर्वाह्न
समाज

आइस्क्रिम बेचेर चल्दैछ ४ दाजुभाइको घर र भविष्य

‘देशमै केही गर्न सकिन्छ’ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँका एकै घरका चार दाजुभाइ।

नयाँ वर्षसँगै उनीहरू आफ्नो सानो तर सङ्घर्षपूर्ण व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहेका छन्।

धनु, मृत्यु, नन्दु र विरेन्द्र रावत नामका यी चार दाजुभाइ अहिले सदरमुकाम खलंगामा ठेलामा आइस्क्रिम, कुल्फी, बरफ, चकलेट, कनेटो र बिड्बा बिक्री गर्दै आइरहेका छन्। उनीहरूले ‘पूजा आइस्क्रिम’ नामक ब्रान्ड बनाएर व्यवसायलाई पहिचान दिएका छन्।

नन्दु अनुसार चार वटा ठेलामार्फत बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बजारका विभिन्न स्थानमा घुमी सेवा दिइन्छ। उनले भने “एक जनाले बसपार्कमा, एक जनाले विमानस्थल क्षेत्रमा, एक जनाले बहुमुखी क्याम्पस आसपास र अर्कोले बजारभित्र ठेला चलाउँछाैं।”

व्यवसाय सुरु गरेको एक वर्ष मात्र भएको भए पनि उनीहरूले मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। यो आम्दानी घर खर्च मात्रै नभई बालबालिकाको पढाइ, लत्ताकपडा, औषधोपचार र केही बचत पनि भइरहेको उनीहरूले बताएका छन्।

उनीहरूले स्थानीय गाईभैंसीको दूध सङ्कलन गरी आवश्यक सामग्री आफै तयार गर्छन्। रातभर खटिएर कुल्फी, बरफ र अन्य परिकार बनाउने उनीहरूको दैनिकी बिहानको घामसँगै ठेलासहित बजारमा देखिन्छ।

“काम गर्ने आत्मबल र इच्छाशक्ति भए देशमै केही गर्न सकिन्छ,” मृत्यु रावतले भन्छन् “सामान्य व्यापार हो तर आम्दानी राम्रै छ। सन्तानको भविष्य सुनिश्चित गर्न हामीलाई अब कसैको भर पर्नु परेको छैन।”

व्यवसायका लागि आवश्यक दुईवटा मेसिन र तीनवटा फ्रिज पनि उनीहरूले आफ्नै आम्दानीबाट जुटाएका छन्। “वास्तवमा कामको कमी छैन, सम्भावनाको अभाव छैन। आफ्नै गाउँमै बसेर पसिनाको मूल्य लिन सकिन्छ।” उनी भन्छन्।

मृत्युकै भनाइमा सहमत छन् विरेन्द्र पनि। “ठेला व्यापारलाई धेरैले सानो मान्लान्, तर यहीबाट हामी परिवार पालिरहेका छौं,” विरेन्द्र सुनाए, “न कमाइमा कमी छ, न इज्जतमा। हामीलाई कसैसँग हात फैलाउन परेको छैन।”

जुम्ला सदरमुकामका गल्लीगल्लीमा हिँड्दै दैनिक तीन सयभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका यी चार दाजुभाइको सङ्घर्षपूर्ण यात्रा यहाँका अन्य स्थानीका लागि प्रेरणा बनिरहेको छ। देशमै बसेर आत्मसम्मानसाथ बाँच्न सकिन्छ भन्ने बलियो सन्देशसहित।

प्रकाशित: १ वैशाख २०८२ १७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App