खेल प्रशिक्षकहरू खेललाई आर्थिक रूपले खर्चालु अथ्र्याउँछन्। खेलाडीका लागि पौष्टिक आहार, पोसाक, खेलकुदका सामग्रीमा बढी खर्च हुन्छ। यसको मतलब, सामान्यतयाः खर्च गर्न सक्ने व्यक्ति मात्र खेलक्षेत्रमा अगाडि बढ्न सक्छ। तर, कडा मिहिनेत, लगनशीलता र खेलप्रतिको मोह हुने हो भने विपन्न समुदायका व्यक्ति पनि खेलक्षेत्रमा अगाडि बढ्न सक्छन् भन्ने उदाहरण बनिन्, नेपालगन्जमा जारी लुम्बिनी कप महिला फुटबलमा सहभागी सुदूरपश्चिम प्रदेशकी खेलाडी आरती विक (१४)।
उनी सामान्य दलित परिवारमा जन्मिएकी सुदूरपश्चिमकी चेली हुन्। उनको गाउँमा फुटबल मैदानसमेत छैन। घरमा व्यावसायिक खेलाडीसमेत छैनन्। भनिन्छ नि, ‘हिलोमा कमल फुल्छ र सबलाई मोहित पार्छ।’
आरती त्यही कमल हुन्, हिलोमा फुलेर सुगन्धित बासना दिइरहेकी छिन्। अर्थात्, खेलकुदका लागि उर्बर नभएको क्षेत्रमा जन्मिएर खेलकुद क्षेत्रमा हुर्किरहेकी छिन्। उनलाई अझ ढकमक्क फुल्न समाज र सरकारले उचित संरक्षण गर्न जरुरी छ।
दुई वर्ष भयो उनले फुटबल खेल्न थालेको। घरेलु खेल सकेसम्म उनले छुटाएकी छैनन्। उत्कृष्ट खेलाडीका रूपमा पनि उनले सम्मान पाएकी छिन्। आधारभूत तह कक्षा आठ उत्तीर्ण गरेकी उनी फुटबल सिक्न दैनिक साइकलमा करिब ४५ देखि एक घण्टा गुडछिन्।
त्यति दूरी पार गरेपछि मात्र उनले दैनिक फुटबल खेल्न पाउँछिन्। आरती प्रशिक्षित हुन्छिन्, कञ्चनपुरबाट कैलालीको धनगढी पुगेर। उनको गाउँमा खेलमैदान नहुँदा धनगढी पुग्नुपर्ने बाध्यता छ। खेलाडी बन्ने सुन्दर सपनाले उनलाई पुनर्बासबाट दैनिक धनगढी डोर्याउँछ।
बुवा गोविन्द बिरामी भएर थलिएका छन्। घरमा आम्दानीको स्रोत सानो लगानीमा खोलिएको खुद्रा पसल छ। झन्डै ९ कट्ठा जमिनमध्ये अहिले ४/५ कट्ठा मात्र बचेको छ। अरू जग्गा गोविन्दको उपचारका लागि बिक्री भयो। तर, अझै सन्चो भएको छैन। उनी प्यारालाइसिसबाट ग्रसित छन्। आरती कान्छो सन्तान हुन्। उनका अगाडि एक दिदी र दाइ छन्।
दाइको विवाह भइसकेको छ। उनका दाइ सामान्य फुटबल खेल्थे। फुटबल खेल्दाखेल्दै राति आउँथे। राति आउँदा घरमा सामान्य विवाद हुन्थ्यो। हुनुको कारण, नै गरिबी थियो। आरतीका दाइले घरको समस्याले फुटबल खेल्न छाडे। घरपरिवार हेर्न सुरु गरे। दाइले फुटबल छाड्दा आरतीलाई यससम्बन्धी सामान्य ज्ञानसमेत थिएन। अनि यहीँबाट सुरु भयो उनको फुटबल खेलाडी बन्ने सपना। फुटबल खेलाडी बन्ने दाइको सपना पूरा गर्नलाई उनले पाइला उचालिन् र अहिलेसम्म तल्लो ‘ग्राउन्ड’ मा सफलता प्राप्त गरेकी छिन्।
यसभन्दा अघि पनि आरतीले क्षेत्रीय खेल खेलिसकेकी छिन्। संयोगवश त्यति बेला क्षेत्रीय खेल खेलेका महिला खेलाडी अहिले यस खेलकुदमा भने छनोट हुन सकेनन्। ७२ जना खेलाडीबाट आरती छनोटमा परेकी हुन्। यसलाई उनले सफलताका रूपमा लिएकी छिन्। ‘मिहिनेतभन्दा ठूलो अरू मलाई केही लाग्दैन,’ उनले भनिन्, ‘पैसा नहुँदा मैले खेलकुद छाडेको भए यो सम्भव थिएन। पैसालाई छाडेर मैले नियमित मिहिनेत गरें र आज यो स्थानमा छु, जुन मेरो सपनाको गोरेटो हो।’
पैसा नहुँदा उनको खेलजीवनमा कयौं समस्या नआएका भने होइनन्। तर, उनले ती समस्यासँग कहिल्यै हार मानिनन् र अगाडि बढिन्। फुटबल क्षेत्रमै एउटा राम्रो खेलाडी भएर नाम राख्ने उनको सपना छ। गत शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग सुदूरपश्चिम भिड्यो। तर, उनी मैदान उत्रिन भने पाइनन्। उनी वैकल्पिक खेलाडी थिइन्। उनलाई प्रशिक्षकले मौका दिएनन्। तर, जर्सीमा खेलाडीकै रूपमा मैदानभित्र बस्न पाउनुलाई पनि एउटा सफलता ठान्छिन् उनी।
‘पहिला त्यही समाजले राम्रोसँग हेर्थेन,’ उनी भन्छिन्, ‘अहिले त, गाउँसमाजले मलाई थप हौसला दिन्छ। त्यही हौसलाले मलाई खेलमा अगाडि बढ्न प्रेरणा मिलिरहेको छ।’ उनमा जिन्दगीको लक्ष्य चुम्न एउटा दृढ इच्छा देखिन्छ। जो, प्राप्त गर्न उनीलाई सबैको साथ र सहयोग आवश्यक रहेको उनका खेलाडी साथी बताउँछन्।
आरतीको मिहिनेतले नै अहिले यस खेलकुदमा छनोट भएको सुदूरपश्चिमका प्रशिक्षक यज्ञप्रसाद श्रेष्ठले बताए। ‘खेलाडी बन्न पैसा आवश्यक त पर्छ,’ उनले भने, ‘तर, इमानदारीपूर्वक कडा मिहिनेत गर्ने हो भने पैसालाई पनि मिहिनेत र लगनशीलताले जित्दो रहेछ।’
उमेरसमूहको राष्ट्रिय खेलाडीका रूपमा आरतीलाई देख्न सकिने सम्भावना देख्छन् प्रशिक्षक श्रेष्ठ। मिहिनेतका लागि पैसा फिक्का लाग्छ आरतीलाई। रहर पूरा गर्न पैसाको बढी जरुरी भए पनि लक्ष्य प्राप्तिका लागि मिहिनेत पहिलो आवश्यकता भएको उनको बुझाइ छ।
प्रकाशित: ११ वैशाख २०८२ ०९:५५ बिहीबार





