नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले पार्टीको ३३औं स्थापना दिवस वैशाख ९ गते र लोकतन्त्र दिवस वैशाख ११ गते भव्य रूपमा मनाउने निर्णय गरेको छ।
सोमबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, तीनकुने घटना र पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको समीक्षा गर्दै आपत्ति जनाएको छ।
बैठकले स्थापना दिवसमा कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनेहरूलाई ‘कम्युनिष्ट योद्धा सम्मान’ प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त सम्मान गरिनेछ भने कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभाराम बस्नेत, गोरखाका बाचशपति देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई यो सम्मान प्रदान गरिनेछ।
वैशाख ११ गते लोकतन्त्र दिवसलाई काठमाडौंमा ‘युवा उत्सव’ का रूपमा मनाउने निर्णय भएको छ। “लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको महत्व युवापुस्तालाई बुझाउन यो उत्सव भव्य बनाउँछौं,” ज्ञवालीले भने।
बैठकले पूर्वराजा शाहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। “पूर्वराजाको अभिव्यक्तिले राजतन्त्र फर्काउने आशा र सक्रियता जीवित रहेको देखिन्छ, जुन गलत छ,” ज्ञवालीले पत्रकारहरूसँग भने।
उनले चैत १५ गते तीनकुनेमा भएको आपराधिक घटनालाई शाहले ‘जनजागरण’ को संज्ञा दिएकोमा आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न आग्रह गरे। “लुटपाट, तोडफोड र पार्टी कार्यालयमा विध्वंशलाई जागरण भन्नु आपत्तिजनक छ,” उनले थपे।
बैठकले पार्टीको आन्तरिक जीवन र आगामी कार्यक्रमबारे पनि छलफल गरेको थियो। एमालेले राष्ट्रिय राजनीतिका समसामयिक विषयमा सन्तुलित र जिम्मेवार भूमिका खेल्ने जनाएको छ।
प्रकाशित: १ वैशाख २०८२ १६:३५ सोमबार